
महोत्तरी - कांग्रेस सभापति शेरबहादुर देउवाले गणतन्त्रमा राजाको कुनै स्थान नरहेको बताएका छन् । ‘राजाको पालामा खाइ पल्केकाहरु र इतिहासबारे थाहै नभएकाहरुले राजा चाहेका हुन्’ देउवा भने, ‘निरंकुशता बुझेकाहरुले यसो भन्दैनन् ।’ उनले भ्रमको खेती धेरै नटिक्ने पनि टिप्पणी गरे । महोत्तरीको बर्दिबासमा बिहीबार साँझ कार्यकर्ता भेटघाटमा उनले निर्वाचनको समयमा कांग्रेसीले नै कांग्रेसलाई मतदान नगर्ने परम्परा अन्त गर्न निर्देशन दिए ।
कार्यकर्ताहरुले गठबन्धन गरी नेताहरुको भविष्यसँग खेलबाड गरेको र गठबन्धन गरेर निर्वाचनमा सहभागी हुँदा पार्टी कमजोर भएको जिज्ञासा राख्दा जवाफमा देउवाले आगामी निर्वाचनमा आफ्नै उम्मेदवारलाई मतदान गर्ने अवसर आउने प्रतिबद्धता जनाए । ’२०८४ को निर्वाचनमा गठबन्धन हुँदैन,’ उनले,‘पार्टीका उम्मेदवारलाई मत नदिइ घात गर्ने परिपाटीको अन्त हुनुपर्छ ।
टिकट पाएका उम्मेदवारको टिकट खोस्ने घटना दोहरिँदैन । उम्मेदवार जित्ने माहोल कार्यकर्ताले नै बनाउनु पर्छ ।’ देउवासँगको भेटघाटमा नेता कार्यकर्ताहरुले बर्दिबासको अव्यवस्थित जग्गा तथा रेल्वेको मुआब्जालगायत समसामयिक समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।