
जनकपुरधाम । सिरहाकी रिंकुकुमारी सदा मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन् ।
नवराजपुर गाउँपालिका-१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदाको बलात्कार तथा मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा पञ्चायतीमा संलग्न वडा सदस्यसहित चार जना रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वडा सदस्य नथुनी साह सहित चार जना छन् । उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन् । उनीहरूलाई आज तीन बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रुपेश मण्डल र जाहेरीमा नाम नभएपनि पञ्चायतीमा भूमिका खेल्ने तीन जनालाई पक्राउ गरेको थियो ।
यस अघि यस घटनाका मुख्य आरोपीको रुपमा रहेको रुपेश मण्डललाई फागुन २१ गते पक्राउ परि सकेको र उनि माथि सिरहा जिल्ला अदालतबाट सोही दिन दुई दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितका अनुसार प्रहरीको विशेष टोलीले बिहान साढे ११ बजेको समयमा सिरहा नगरपालिका १७ स्थित दशगजा क्षेत्रबाट उनलाई पक्राउ गरेको थियो ।
गत माघ २७ गते राति शौच गर्न बाहिर निस्केकी रिंकु स्थानीय तीन युवकबाट सामूहिक बलात्कारमा परेकी थिइन् । तर, वडा सदस्यसहितका स्थानीयको संलग्नतामा २९ र ३० गते पञ्चायती बसेर घटना गाउँमै मिलाउने प्रयास गरिएको थियो ।
पञ्चायतीले बलात्कारका पीडकबाट १ लाख ४० हजार जरिवाना भराउने र पीडितलाई प्रहरीमा जान नदिने निर्णय गरेको थियो । तर, पञ्चायती नमिल्दा पीडक पक्षको धम्कीका बीच ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
यस घटनाका विषयमा विभिन्न संचारमाध्यमबाट समाचार प्रकाशित भएपछि प्रहरीले बलात्कारमा संलग्न तीन जना र पञ्चायती गर्ने ५ गरी ८ जनाविरुद्ध जाहेरी लिएर अनुसन्धान गरिरहेको छ । अनुसन्धानका क्रममा अन्य तीन जना गत फागुन ११ गते नै पक्राउ परिसकेका छन् ।