
धनुषा,रौतहट - स्थानीय तहमा प्रशासकीय अधिकृत अकस्मात फेरिने क्रम नरोकिँदा विकास निर्माणका काममा ढिलासुस्तीसँगै दैनिक प्रशासनिक काममै समस्या खडा भइरहेको छ । नगर प्रमुखहरुले आफ्नो स्वार्थ अनुकूल काम गर्ने प्रमुख प्रशासकीय अधिकृत ल्याउन खोज्दा अनियमितता र मनपरी बढेको स्थानीयको गुनासो छ ।
मधेश प्रदेशका अधिकांश स्थानीय तहमा प्रशासकीय अधिृकतका विषयमा प्रमुख–उपप्रमुख बीच मनमुटावको स्थिति छ । जनप्रतिनिधि बीचमै कर्मचारीको जिम्मेवारीबारे मत विभाजन हुँदा नियमित कामकाज र बजेट कार्यान्वयनमा चुनौती देखिएको छ । केही पालिकामा चालु आर्थिक वर्षमै ४/५ पटकसम्म प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
गत माघ २ गते धनुषाको विदेह नगरपालिका प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका दिपेन्द्रकुमार साहले शिक्षक सेवा आयोगको सिफारिसमा आएकी एक शिक्षकलाई हाजिर गराएको निहुँमा नगरप्रमुख बेचन दासका छोरा रामभजनले माघ २७ गते कार्यालयमै कुटपिट गरे । नगरप्रमुख दास समक्ष गुनासो गर्दा उल्टै गोली हानेर मारिदिने धम्की खाए । नगरप्रमुखकै दबाबका कारण काम गर्न नसकेर साह फागुन ११ गते कार्यालय छोडेर काठमाडौं फर्किए । उच्च अदालत जनकपुरले प्रशासकीय अधिकृत साहलाई पदीय दायित्त्व अनुसार कामकाज गर्न कुनै किसिमको अवरोध पुर्याउने कार्य नगर्न आदेश दिए पनि कार्यालयमा प्रवेश गर्न नपाएपछि साह हाल संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरधामको प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
राष्ट्रिय सतर्कता केन्द्रबाट साहलाई रोजेर नगरपालिकामा ल्याउँदा नगरप्रमुख दासले भव्य स्वागत समेत गरेका थिए । तर शिक्षकलाई हाजिर गराएकै निहुँमा अधिकृत साहलाई कार्यकक्षमै ०८१ माघ २८ गते नगर प्रमुख दासका छोरा रामभजन दासले कुटपिट गरे । कुटपिट भएको जानकारी गराउन गएका अधिकृत साहलाई नगर प्रमुखले माघ २९ गते ज्यान मार्नेसम्मको धम्की दिए । कुटपिट, गोली हान्ने धम्की बारे अधिकृत साहले जिल्ला प्रशासन कार्यालय धनुषामा माघ २९ गते कारबाही, सुरक्षा तथा सुरक्षित वातावरणको लागि उजुरी गरेका थिए । उच्च अदालत जनकपुरका न्यायाधीश खेमराज भट्टको इजलासले फागुन ८ गते प्रशासकीय अधिकृत साहलाई अफिसमा कामकाज गर्न दिनु भनि दिएको अन्तरिम आदेश कार्यन्वयनै भएन । अदालतको अन्तरिम आदेशभन्दा दुई दिनअघि फागुन ६ मा अधिकृत साहलाई मन्त्रालयबाट सरुवा र विदेह नगरपालिकाबाट रवाना दिएको पत्र पछि इमेलमा पठाइएको पाइयो । अदालतको आदेश अनुसार सुरक्षाकर्मीसहित कार्यालय पुगेका अधिकृत साहलाई कार्यालयमा प्रवेश गर्न नदिएपछि फागुन ११ गते कार्यालय सरुवा र रवाना पत्र पाएका थिए । सरुवा भइसकेका अधिकृत कार्यालयको ढोका अगाडि माटो ढोगेर काठमाडौं फर्किएका थिए ।
धनुषाको हंसपुर नगरपालिकामा चालु आर्थिक वर्षका आठ महिनामा तीन जना प्रशासकीय अधिकृत फेरिइसकेका छन् । नगरप्रमुख प्रदीपकुमार यादवले आफू अनुकूल भएर काम नगर्दा पालैपालो फिर्ता पठाएको अन्य जनप्रतिनिधिको आरोप छ । प्रमुख प्रशासकीय अधिकृत सुवोध ठाकुर, केशव अधिकारी र सर्वजितकुमार झालाई नगरप्रमुख यादवले आफैं मन्त्रालय धाएर सरुवा गराएर ल्याए । तर ठाकुर र अधिकारीलाई कार्यालयमा कामसमेत गर्न नदिइ एकपछि अर्को प्रशासकीय अधिकृत सरुवा गराए । नगरप्रमुख यादव भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै कारण स्थानीय तहमा भद्रगोल भएको आरोप लगाए । कार्यालयको लागि आफूले ल्याएको प्रमुख प्रशासकीय अधिकृत काम सुरु गर्नै लाग्दा संघीय प्रशासन मन्त्रालयले अर्को अधिकृत पठाइदिँदा समस्या भइरहेको हंसपुरका नगर प्रमुख यादवले बताए । उनका अनुसार स्वार्थ समूहहरुको इच्छा अनुसार नगरपालिकाको हाकिमको सरुवा हुने गरेको छ ।
हंसपुरबाट सरुवा भएर स्थानीय तहमा जान नपाएका सुबोध ठाकुरलाई महोतरीको गौशाला नगरपालिका प्रमुख दिपेन्द्र महतोले मन्त्रालयमा पहल गरी आफ्नो पालिकामा ल्याए । तर आफू अनुकूल काम गर्न नमानेका अधिकृत ठाकुरलाई नगरप्रमुख महतोले अर्का प्रशासकीय अधिकृत ल्याएर कार्यपालिका बैठकबाट ग्रेड कट्टा गर्ने निर्णय गरेर मन्त्रालयलाई सिफारिस गरेका छन् ।
नगरप्रमुख महतोले धाकधम्की दिएर आफू अनुकूल काम लगाउन खोज्दा ठाकुर असुरक्षित भएपछि कार्यालय नै आउन छोडेका थिए । नगरप्रमुख महतोले ‘एस म्यान’ अधिकृत बनाएर आफ्नो स्वार्थ पूरा गर्न खोज्दा गौशाला नगरपालिकामा समस्या भएको प्रशासकीय अधिकृत ठाकुरले बताए । ‘आफू प्रक्रिया अनुसार काम गर्न खोज्दा मन्त्रालय धाएर सरुवा गराए,’ अधिकृत ठाकुरले भने, ‘अस्पतालका लागि डाक्टरसहितका ३८ जना कर्मचारी र इन्जिनियरको लागि भएको विज्ञापनमा नगरप्रमुख महतोले सबै आफ्ना मान्छे नियुक्त गर्न दबाब दिनुभयो । प्रक्रियामा मिल्ने मात्रै गर्न सक्ने बताएपछि धाकधम्की दियो ।’ विधिप्रक्रिया मिचेर दिएको मौखिक निर्देशन नमानेपछि अर्कै प्रशासकीय अधिकृत सरुवा गराएर ल्याएको उनले बताए । ‘नदी उत्खखन् ठेक्का आफू नजिककालाई दिन र एक्सरे मेसिन खरिदमा मापदण्डभन्दा पनि स्वार्थ मिल्नेलाई दिन खोज्दा गौशालामा काम गर्न सकिएन,’ ठाकुरले भने ।
खरिद हुने समान, कार्यालयको नियमित काम, कर्मचारी नियुक्ति व्यवस्थित गर्न खोज्दा नगर प्रमुख महतोले अवरोध गरेको ठाकुरले आरोप लगाए । गौशाला नगरपालिकामा ६/६ महिनामै शिक्षक सरुवा नियुक्ति, अस्पतालका लागि औषधि उपकरण खरिद कर्मचारी नियुक्ति, नदी उत्खनन् तथा बजार ठेक्का, सवारी साधन प्रयोग, कार्यालयका लागि प्रयोग हुने डिजल पेट्रोलमा आफूअनुकूल निर्णय लाद्न खोज्दा यहाँ प्रमुख प्रशासकीय अधिकृत असुरक्षित भइ काम गर्न नसकेको गौशाला नगरपालिकाकी उपप्रमुख रेनुकुमारी महतोले बताइन् । उपप्रमुखको अधिकार र सेवासुविधा दिन चाहने प्रशासकीय अधिकृतलाई धाकधम्की दिँदा आफू सवारी सुविधाबाट बञ्चित भएको उपप्रमुख महतोले बताइन् । गौशाला नगरपालिकामा चालु आर्थिक वर्षको ७ महिनामै ३ जना प्रशासकीय अधिकृत फेरिएका छन् । मन्त्रालयले ०८१ माघ ९ गते दिनदिनै स्थानीय तहमा अधिकृत सरुवा गर्ने र निमित्तको भरमा स्थानीय तह सञ्चालन हुने परम्परा रोक्न निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गरेको थियो । लामो समयदेखि स्थायी प्रमुख प्रशासकीय अधिकृतको अभावमा निमित्त प्रमुखहरुले जिम्मेवारी सम्हाल्दै आएका थिए । मन्त्रालयले स्थायी व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढाएको स्थानीय तहहरुमा फेरि निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको छ ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा स्वास्थ्य सेवाका अधिकृत छैठौं रामपुकार दास निमित्त प्रमुख थिए । मन्त्रालयले उनको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गर्दै फेरि स्वास्थ्य तर्फकै छैठौं तहका शम्भुप्रसाद साहलाई निमित प्रमुखको जिम्मेवारी दिएको छ । महोतरीको भगंहा नगरपालिकामा प्रशासन अधिकृत विजयकुमार यादव निमित प्रमुखको जिम्मेवारी रद्द गरे पनि प्रशासकीय अधिकृत पठाएको छैन । प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको काम प्रभावित भएको नगरप्रमुख सञ्जीव साहले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारीले नगरप्रमुख र सरुवा भएर जाने प्रशासकीय अधिकृतबाट आर्थिक लाभ लिएर दिनदिनै स्थानीय तहमा कर्मचारी सरुवा गरिरहेको विदेह नगरपालिकाबाट एक महिनामै सरुवा भएका तत्कालीन प्रशासकीय अधिकृत दिपेन्द्र साहले बताए । मन्त्रालयले दरबन्दी अनुसार पठाएको अधिकृतलाई हाजिर हुन नदिने नगरप्रमुखहरुले मन मिल्ने कनिष्ठ अधिकृत रोजेर सरुवा गर्ने र निमित्त प्रमुखबाट बजेट सञ्चालन गर्ने प्रवृति मौलाएको साहले बताए । स्थानीय तहका नगर प्रमुखहरुले रोजेको प्रशासकीय अधिकृत ल्याउने राजनीति दलको शक्ति केन्द्र धाउने गरेको छ । ‘रोजेरै ल्याएका अधिकृतले आफ्नो अनुकूलको काम गर्न नमान्दा नगरप्रमुखहरुले शक्ति केन्द्र र मन्त्रालयका कर्मचारीलाई आर्थिक प्रलोभनमा पारेर धपाउने गरेको छ,’ साहले भने,‘नगर प्रमुखकै आसपासका व्यक्ति नगरपालिकामा काम पाउँछन् । कमिशनको सेटिङ्गमा काम हुन्छ । लेनदेन नगर्ने कर्मचारीलाई टिक्न नै दिइँदैन ।’
टिक्नै दिँदैनन् प्रमुख प्रशासकीय अधिकृत
गत माघ ९ गते संघीय मामला तथा समान्य प्रशासन मन्त्रालयले रौतहटको वृन्दावन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलको काज फिर्ता गर्यो । शिक्षा सेवा प्रशासन समूहका भुजेललाई मन्त्रालयमा काज फिर्ता गरी उनको ठाउँमा समान्य प्रशासन समूहका अधिकृत हरिशंकर यादवलाई सरुवा गरेको थियो । माघ १४ गते मन्त्रायको सरुवापत्र बोकेर नगरपालिका पुगेका यावदलाई नगरप्रमुख विनोदप्रसाद कुर्मीले रजिस्ट्रर लुकाएर हाजिर हुनै दिएनन् । उपप्रमुख संगीताकुमारी रामले वडाअध्यक्षहरुलाई बोलाएर अधिकृत यादवलाई अर्को दर्ता–चलानी र रजिस्ट्रर तयार पारेर हाजिर गराए । उनी हाजिर भएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयले फागुन १५ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भुजेलको काज फिर्ता भइसकेकोले हाल सरुवा भइ आएका अधिकृत यादवको नाममा खाता सञ्चालन गर्न भनेर नगरपालिकालाई पत्र पठायो ।
नगरप्रमुख कुर्मीले भुजेललाई नै ल्याउन खोजेकाले यादवलाई हाजिर हुनै दिएका छैनन् भने उपप्रमुख राम कुनै पनि हातलमा भुजेललाई हाजिर हुन नदिने अडानमा छिन् । कुर्मीले हाजिर रजिस्ट्रर आफ्नै साथमा राखेका छन् । उनले अधिकृत यादवलाई हाजिर गराउने वातावरण नभएकाले भुजेललाई निरन्तरता दिन माग गर्दै मन्त्रालयमा पत्र समेत पठाएका छन् ।
नगरप्रमुख कुर्मी र प्रशासकीय अधिकृत भुजेल मिलेर आर्थिक अनियमितता गरेको भन्दै स्थानीयले छानबिनका लागि अख्तियारमा उजुरी दिनुका साथै गत भदौमा अनसन समेत बसेका थिए । २०७९ भदौ ३१ गते सरुवा भइ आएका भुजेलले ‘मन्त्रालयमा सेटिङ मिलाएर’ वृन्दावन नगरपालिकामा पटक/पटक काज मिलाएर आउने गरेको स्थानीय विजय यादवले बताए ।
सरुवा भएर पनि हाजिर हुन नपाएको अधिकृत यादवले सुनाए । ‘मैले मन्त्रालयमा निवेदन दिएको छ । वृन्दावनमा हाजिर हुन नदिएकाले अन्तै कतै व्यवस्था मिलाउन भनेको छु,’ उनले भने,‘नगरप्रमुखले नै हाजिर हुन नदिए पछि जर्बजस्ती गर्ने कुरा भएन ।’
सर्लाहीको हरिवन नगरपालिकाबाट २०८१ भदौ ३१ गते रौतहटको चन्द्रपुर नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई हाजिर हुनै दिइएन । नगरप्रमुख सञ्जय काफ्लेले हाजिर हुन नदिएको उनले बताए । यहाँ हाजिर हुन नपाएपछि मन्त्रालयले उनलाई गत असोज १५ गते मन्त्रालयमै हाजिर गरायो । मंसिर ४ गते उनलाई मकवानपुरको थाहा नगरपालिकामा सरुवा गरेको छ । प्रमुख प्रशासकीय अधिकृत प्रधानले चन्द्रपुरमा हाजिर हुन नदिएपछि आफूले जोडबल नगरेको बताए ।
गढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव गत मंसिरमा रौतहटकै माधवनारायण नगरपालिकामा सरुवा भए । तर आन्तरिक कलहका कारण चार महिनामै उनको सिरहा सरुवा भयो । यादवको स्थानमा अधिकृत नागेन्द्र यादवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । कटहरिया नगरपालिका दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । अधिकृत रामजी जोशीको गत माघमा यमुनामाई गाउँपालिका सरुवा भएपछि उनको स्थानमा मन्त्रालयले धनन्जय दासलाई पठाएको छ । तर उनी हाजिर भएनन् । नगरप्रमुख अजयप्रकाशले अधिकृत दास हाजिर हुनै नआएको बताए । ‘कटहरियामा सरुवा भएका दास देवाही गोनाहीमा हाजिर भयो भन्ने सुने,’ उनले भने, ‘किन नआएको थाहा भएन ।’
दासले कटहरिया नगरपालिकामा काम गर्ने वातावरण नभएकाले देवाहीगोनाहीमा हाजिर भएको बताउँदै आएका छन् । पछिल्लो समय रौतहटको स्थानीय तहमा जनप्रतिनिधिले नै प्रमुख प्रशासकीय अधिकृतलाई टिक्नै नदिने गरेको पाइएको छ । उनीहरुले भनेको जस्तो काम र आफू अनुकूलको गरेन भने अधिकृतको खुलेर विरोध गर्ने र अवधि पुग्न नपाउँदै राजनीति पहुँचको भरमा सरुवा गराउन थालेको पाइएको छ । जनप्रतिनिधिले नै टिक्न नदिएपछि अधिकृतहरु निराश छन् । एक प्रमुख प्रशासकीय अधिकृतले भने, यो जिल्लामा पूरा अवधिसम्म बस्नु छ भने नगरप्रमुखको इसारामा चल्नु पर्छ । उनले भनेको जस्तै नियम मिचेर काम गर्नुपर्छ अन्यथा सरुवाको लागि मन्त्रालयमा पत्र पठाइदिन्छन् ।’ जिल्लाको फतुवाविजयपुर, दुर्गाभगवती गाउँपालिका, देवाहीगोनाहीमा प्रमुख प्रशासकीय अधिकृत टिक्नै सक्दैनन् ।
कटहरिया नगरपालिका–४ का वडाध्यक्ष कुन्दन कुशवाहाले प्रमुख प्रशासकीय अधिकृत नहुँदा स्थायी २ सय ५० र करार २ सय कर्मचारीले तलब पाउन नसकेको बताए । ‘सरुवा भएर आएका हाकिम धनन्जय दासलाई नगरप्रमुख अजयप्रकाशले हाजिर हुनै दिएनन्,’ उनले भने,‘आफ्नो अनुकूल भएन भनेर हाजिर गराएनन् । पालिकाको सबैका कामकाज ठप्प छ ।’ तलबभत्ता, दैनिक खर्च, विकास निर्माणको भुक्तानीलगायतका सबै काम प्रभावित हुन थालेको नगरपालिकाका वडाअध्यक्षहरु बताउँछन् ।
जिल्लाको अधिकांश पालिकामा प्रमुख प्रशासकीय अधिकृतको अवधि नपुगी सरुवा हुने प्रवृति हाबी हुँदै गएको नागरिक समाजका अगुवा योगेन्द्रप्रसाद यादवले बताए । ‘आफु अनुकूलको हाकिम ल्याउने र चित्त नबुझे तत्कालै हटाउन पत्राचार गर्ने चलन आयो,’ उनले भने,‘यसले कर्मचारी र सिंगो पालिकाको सिस्टममा असर गर्छ । सबैभन्दा बढी सेवाग्राही मारमा पर्छन् ।’-कान्तिपुर