
महोत्तरी - मधेसका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवका कारण महोत्तरी मरुभूमि बन्ने सांसद सरोजसिंह कुशवाहाले बताएका छन् ।
बुधबार प्रदेश सभामा बोल्दै सांसद कुशवाहाले मन्त्री यादवले न त संविधानलाई बुझेको छ न त कानूनलाई नै । आफू मन्त्री हुँ भन्नेले संविधान र कानूनलाई मान्नु पर्ने तर्क गरे ।
प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहलाई अनुरोध गर्दै सांसद कुशवाहाले भने, ‘दिमागी हालत ठीक नभएको मन्त्रीलाई सरकारी कोषबाट इलाज गराउनुस् ।’ संविधान बुझ्दैन, कानून मान्दैन । के यसरी नै प्रदेश चल्छ त ?
बुधबार महोत्तरीको ‘टिकुलिया–सहसौला’ सडक स्तरोन्नति योजनाको शिल्यानाश गर्न पुगेका मन्त्री यादवलाई टिकुलिया चोकबाट माओवादी कार्यकर्ता लखेटेका छन् । ‘टिकुलिया–सहसौला’ क्षेत्र सांसद कुशवाहाको निर्वाचन क्षेत्र हो । कुशवाहा महोत्तरी ४ को ‘ख’ र यादव ४ को ‘क’ बाट निर्वाचित भएका छन् ।
मन्त्री यादवलाई महोत्तरीको टिकुलियाबाट माओवादी कार्यकर्ताहरुले लखेटेको विषयमा बोल्दै कुशवाहाले भने, ‘मन्त्री यादवले अरुको योजना आफ्नो योजना भन्दै जनतामा भ्रम फैलाइरहेको छ ।’
म मन्त्री यादवलाई चुनौति दिन्छु, सांसद कुशवाहाले भने, ‘त्यसो हो भने उहाँ मेरो क्षेत्रमै आएर काम गरोस् ।’ त्यो उहाँको लागि सम्भव छैन । के उहाँ ब्रह्मा हो र ?
बुधबार सांसद कुशवाहाले मन्त्री लखेटिएको विषयलाई लिए प्रदेशसभा नै हल्लाए । उनले भने, ‘मेरो योजना पनि मन्त्री यादवले खरिदबिक्री गर्ने काम गरेको छ ।’ म दोस्रो पटक सांसद भएको छु, पहिलो कार्यकालमा अधुरो रहेका कामहरु पूरा गर्नु मेरो दायित्त्व हो । तर, मन्त्री यादव त्यसको बाधक बनेको छ ।
मन्त्री यादवका कारण प्रदेशका योजनाहरु खरिदबिक्री भइरहेको छ । उनले भने, ‘मन्त्रीले आफ्नो कार्यशैली नसुधारे महोत्तरी मात्रै होइन, मधेस नै मरुभूमि बन्नेछ ।’
यस्तो थियो घटनाः
बुधबार महोत्तरीको ‘टिकुलिया–सहसौला’ सडक स्तरोन्नति योजनाको शिल्यानाश गर्न पुगेका मन्त्री यादवलाई टिकुलिया चोकबाट माओवादी कार्यकर्ता लखेटेका छन् ।
माओवादीको कोटामा रहेको योजनाको शिल्यानाश गर्न मन्त्री यादव पुग्दा माओवादी समर्थकहरुले अवरोध गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो । तर, मन्त्री यादवले वडाबाट समिति नबनाई सिधै पालिकाबाट उपभोक्ता समिति गठन गराएर योजना सञ्चालन गर्ने तयारीमा थिए । जसको विरोधस्वरुव असन्तुष्ट पक्ष (माओवादी) द्वारा मन्त्री यादव लखेटिन पुगे ।

सो योजनाका मधेस प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । माओवादी संसदीय दलका नेता एवं पूर्वमन्त्री भरत साहले आफ्नो योजना मन्त्री यादवले शिल्यानाश गर्न खोजेको आरोप लगाए ।
नेता साहले आफू मन्त्री रहेकै बेला सो योजना पारित भएको बताए । यो योजना सञ्चालनको जिम्मेवारी आफूहरुले नै पाउनु पर्ने उनले दावी गरे ।
यद्यपि, योजनाको शिलान्यासपछि मन्त्री यादव प्रहरीको सुरक्षा घेराबीच फर्किएका छन् । अवस्था जटिल हुन नदिन शिलान्यास स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरी सुरक्षा सतर्कता बढाइएको थियो ।
त्यसक्रममा असन्तुष्ट पक्ष र सुरक्षाकर्मीबीच सामान्य झडप समेत भएको बताइएको छ ।