
जनकपुरधाम – सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्याको घटनासम्बन्धी उच्च अदालत जनकपुरमा परेको रिट पुनः हेर्न नभ्याइनेमा परेको छ।
बुधबार न्यायाधीश श्रीकान्त पौडेल र ध्रुव कुमार पियाको इजलाशमा तोकिएको पेशी हेर्न नभ्याइनेमा परेको हो। जिल्ला अदालत महोत्तरीबाट जन्मकैदको सजाय पाएका मधेस प्रदेशका निलम्बित सांसद अभिराम शर्मासहित चार जनाको मुद्दाको १४ औँ पेशीसमेत हेर्न नभ्याइनेमा परेको हो।
लोकतान्त्रिक समाजवादी पार्टीका निलम्बित सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको मुद्दाको पेशी पटक पटक हेर्न नभ्याइनेमा पर्ने गरेको छ।
गत वैशाख ९ गते शर्माको हकमा उनका बुवा महेन्द्र शर्मा, मिश्रको हकमा उनका श्रीमती संगीता कुमारी शर्माले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए।
यस्तै बैशाख १० गते पाण्डेको हकमा उनका छोरी प्रियंका पाण्डे र रायको हकमा उनका दाइ अरविन्द कुमार रायले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए।
जेठ ९ गतेको पेशीमा न्याययाधीश बलभद्र बास्तोला र नरबहादुर खड्काको इजलासले सबै मुद्दालाई साथै बढाउने आदेश गरेको थियो। त्यसयता तोकिएको पेशी पटक पटक स्थगित र हेर्न नभ्याइनेमा पर्दै आएको छ।
दोस्रो मधेश आन्दोलनको क्रममा २०७२ भदौ २५ गते महोत्तरीमा असई विकको एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो। सो प्रकरणमा २०७२ फागुन २७ गते महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता भएको थियो।
महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिए पनि अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाएको थियो।
न्यायाधीश भट्टराईको इजलासले प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायसहित सात जनालाई पनि जन्मकैदको फैसला सुनाएको थियो। मधेस प्रदेश सभाले २०८१ वैशाख १८ गते सांसद शर्मालाई निलम्बन गरेको थियो।-देश सञ्चार