
जनकपुरधाम - नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । जनकपुरधाम स्थित प्रादेशिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा संविधान सभाबाट राजालाई हटाएकोले अब आउने सम्भावना नरहेको बताए ।
उनले राजतन्त्रको पक्षमा वकालत गरिए पनि संविधान सभाले गरेको निर्णयका विरुद्ध कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताए। उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक भएको देशमा सबैको बीचमा एकता कायम गर्नुपर्ने ठाउँमा एउटा जातिको पुरुष र एउटा जाति, धर्म मान्ने पुरुष राज्यसत्तामा ल्याउने भनेको समावेशिता, जातीय, क्षेत्रीय विविधता माथिको समेत प्रहार हुने र यसले ठूलो द्वन्द्वतर्फ लाने भएकाले सचेत रहनका लागि आग्रह गरे ।
उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र पहिचानवादी आन्दोलनबाट आएका राजनीतिक दलहरू बिस्तारै थाक्दै, गल्दै गइरहेको उल्लेख गरे । उनले अग्रगामी राजनीतिक विकल्प संघीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको राजनीतिक दल भएको दाबी गरे । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औंल्याउँदै, यस्तो प्रणाली भएमा स्थिरता आउने दाबी गरे । संघीयतासम्बन्धी आवश्यक नियम तथा कानून समयमै नबनाइएकाले संघीयता ठिक ढंगले कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। डा भट्टराईले थपे, 'अहिलेका पुराना राजनीतिक दलहरूको नेतृत्व थाक्दै, गल्दै, निष्क्रिय र गतिहीन बनेको छ। त्यसको विकल्प भनेको संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित अग्रगामी राजनीतिक दल हो। तर, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नहुँदा स्थिरता आउन सकेन।
साथै, संघीयताको आवश्यक नियम र कानून समयमै नबनाइएकाले कार्यान्वयन प्रभावकारी हुन सकेन। पहिचान र अधिकारसहितको संघीयता अपूरो रूपमा रह्यो।' उनले राज्यका अंगहरु ब्युरोकेसी, अड्डा अदालत, सुरक्षा अंगहरुको बेलैमा रुपान्तरण नहुँदा भ्रष्टाचारको दुश्चक्रमा फसेको टिप्पणी गरे । उनले यही कारणले जनता वाक्कदिक्क भएको बताए । डा भट्टराईले अहिलेको संघीयतालाई अपूरो रहेको ठहर गर्दै सुधारका लागि अग्रगामी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए ।