
जनकपुर - जनकपुरका नाम चलेका होटलबाट बासी र म्याद गुज्रेका सामग्री बरामद गरिएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका होटल अनुगमन गर्ने क्रममा मानव स्वास्थ्यलाई असर पार्ने अशुद्ध सामग्री फेला परेका हुन् ।
मुख्यमन्त्री सिंहसहित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको टिमले आइतबार राति जनकपुरका दर्जन बढी होटलको अनुगमन गरेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष साहले जनकपुरका होटलहरुमा मापदण्डअनुसार भान्सा कोठा सफा र व्यवस्थित नरहेको बताए । उनका अनुसार हंसराज स्वीटबाट उत्पादकको नाम, उत्पादन तथा म्याद गुज्रिने मिति उल्लेख नरहेको ११ प्याकेट फ्रोजन मःम जफत गरेर नष्ट गरिएको छ ।
यस्तै, न्यू जानकी भ्यू होटलबाट एक बाल्टिन बासी तरकारी, किरा परेको दाल र खुला ठाउँमा राखिएको तरकारी, लक्ष्मी मिष्ठान्न भण्डारबाट किरा परेको १० किलो मैदा जफत गरी नष्ट गरिएको साहले जानकारी दिए । जानकी मन्दिरकै वरिपरि रहेका यी शाकाहारी होटल हुन् ।
मुख्यमन्त्री सिंहले जनकपुरका केही होटलमा सफा, स्वच्छ तथा स्वस्थ खाना उपलब्ध नहुने गरेको गुनासो सुनेपछि अनुगमन सुरु गरेको बताए । सुरक्षित तथा स्वच्छ खानेकुरा उत्पादन, वितरण र उपभोगमा उपभोक्ताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले होटल अनुगमन सुरु गरिएको उनले बताए । उनले होटल अनुगमन कार्यलाई सम्बद्ध सरकारी संयन्त्रले निरन्तरता दिने बताएका छन् ।