
महोत्तरी - एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको काठमाडौं तिनकुनेमा आगजनी गरिएको घरमा जलेको अवस्थामा शव भेटिएपछि घटनाको विरोध स्वरुप पत्रकारहरुले आईतवार हातमा कालो पट्टी बाँधेर बिरोध जनाएका छन । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयको सर्कुलेशन अनुसार नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले जिल्ला स्थित सवै संचारकर्मीलाई आफ्नो कार्यक्षेत्रमा कालोपट्टी बाँधेर घटनाको विरोध जनाउदै स्व. पत्रकार रजकको हत्यारालाई कार्यवाहीको लागि आवाज उठाउन सुचना जारी गरेपछि महोत्तरीका पत्रकारहरुले कालोपट्टी बाँधेर बिरोध जनाएका छन ।

नेपाल पत्रकार महासंघ महोत्तरीका उपाध्यक्ष अरविन्द कुमार झा(गोपाल) को नेतृत्वमा शनिवार समेत पत्रकारहरुले बिरोध र्याली र शोकसभा गरेका थिए । त्यसैगरी वर्दिवास नगरपत्रकार संजालले समेत बर्दिवासमा साँझ विरोध प्रदर्शन गरेका छन् । बर्दिवासमा भएको विरोध र्याली बर्दिवासको सिन्धुली रोडको मुख्य चोकबाट सुरु भई नगर परिक्रमा गर्दै सुन्धुलीरोडमा कोण सभामा परिणत भएको थियो । पत्रकारहरूले ‘दोषीलाई कारबाही गर’, ‘सञ्चारमाध्यममाथि आक्रमण बन्द गर’ ‘प्रेस स्वतन्त्रता जिन्दावाद,’ ‘पत्रकार कुट्न पाइँदैन’ जस्ता नारा लगाएका थिए ।

कोणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतो, नेपाल प्रेस यूनियन मधेश प्रदेशका महासचिव अजय साह, पत्रकार रविन्द्र उप्रेतीले सम्बोधन गर्दै जघन्य अपराधमा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरे । साथै संविधान अनुसार पूर्ण प्रेस स्वतन्त्रता कायम गर्न सरकारलाई दबाब दिने चेतावनी दिए ।
कोणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोले सम्बोधन गदै पत्रकार सुरेश रजकका परिवारलाई उचित राहत प्रदान गर्न, घाइते पत्रकारहरूको शीघ्र उपचारको व्यवस्था गर्न र सञ्चारगृहमाथि आक्रमण गर्ने दोषीलाई पहिचान गरी कारवाही अघि नबढाए थप सशक्त आन्दो लन गर्ने चेतावनी पनि दिए ।