
मो. इशराफिल राईन,महोत्तरी - मुस्लिम समुदायको महान पर्व ईद उल फित्र (ईद) आज नेपालमा हर्षोल्लासका साथ मनाइदै छ ।यो पर्व इस्लामिक पात्रो अनुसार रमजान महिनाको अन्त्यमा मनाइन्छ, जसमा एक महिनासम्म रोजा (उपवास) बसेपछि नयाँ चन्द्रमा देखिएपछि ईद मनाइन्छ।
ईदको दिन मुस्लिम समुदायका सदस्यहरू मस्जिदहरूमा भेला भएर विशेष नमाज पढ्छन् र एकआपसमा शुभकामना साटासाट गर्छन्।यसै अवसरमा महोत्तरी जिल्लाको मटिहानीमा पनि हर्षोउल्लासका साथ ईद-उल-फित्र मनाइएको छ ।
मटिहानी-७ स्थित शाह अगवान पिर बाबा मजार ईदगाहमा नमाज पढ्दै त्यहाँका मुस्लिम समुदायले उक्त ईद मनाइएको छ ।

त्यसै गरी ईद खुशिको पर्व हो र यसको मुख्य उद्देश्य नै एक अर्का संग खुशी बाड़ने, अरुको चित न दुखाई एक अर्काको भलो हुने काम गर्नु रहेको कुरा मटिहानी-८ स्थित नूरी मस्जिदका एमाम (मौलबी) मोहम्मद तहसीन रेजाले बताउनु भयो ।
यसै अवसरमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडलले बिभिन्न ईदगाहमा पुगी मुस्लिम समुदायमा ईदको शुभकामना दिदै ईदले हामी सबैमा खुशियाली मिलोस र हामी सबैको बीचमा आपसी भाई चारा सामाजिक सद्भाव कायम रहोस भन्ने कामना गर्नुभयो ।

ईद उल फित्रले दान, परोपकार, र समुदायबीचको एकता र सद्भावलाई प्रवर्द्धन गर्छ। यो पर्वले रमजान महिनामा गरिएको तपस्या र आत्मसंयमको समाप्ति गर्दै, नयाँ ऊर्जा र उत्साहका साथ जीवनयापन गर्न प्रेरित गर्छ।
यस अवसरमा, परिवार र साथीभाइहरूबीच भेटघाट, मिठाइ वितरण, नयाँ कपडा लगाउने, र विशेष परिकारहरू तयार गर्ने परम्परा रहेको छ। ईदको दिन सेवाई, बिरयानी, पुलाउ, मासुका परिकारहरू, फलफूल आदि खानपान गरिन्छ।