
जनकपुरधाम- लामो समय देखि रेल्वेको लागि महोत्तरीको वर्दिवास स्थित जग्गा मुआब्जा विवाद टुंगिने भएको छ । विगत ७ वर्ष देखि बर्दिवासमा रेल विभागले रोक्का गरेको जग्गाको मुआब्जा विवाद टुंगिने भएको हो । जयनगर-बर्दिवास रेल्वे र पूर्व-पश्चिम रेलमार्गको समेत साझा स्टेशन रह्ने बर्दिवास क्षेत्रको जग्गा मुआब्जा विवाद टुंग्याइएको मुआब्जा निर्धारण समितिले जनाएको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले वर्दिवास नगरपालिकाको पूर्वमा रातुखोलादेखि पश्चिममा भप्सी खोलासम्मको करिब ६९ बिघा जग्गाको मुआब्जा विवाद आज बुधबार साँझ टुंग्याइएको जानकारी दिए । प्रजिअ भट्टराईले भने, ‘लामो समयदेखि मुआब्जामा कुरा नमिलेका जग्गाको आज दररेट निर्धारण गरिएको छ , अव अब १५ दिने सूचना निकालेर काम अघि बढाइनेछ ।’
तिब्रगतिमा विकासन्मुख वर्दिवास बजारक्षेत्रको व्यक्तिगत जग्गा भएकाले चर्को मूल्य माग गर्दै आएका बर्दिवासवासीले मागे अनुसारको सरकारले मुआब्जा वितरण गर्न सकेको थिएन ।
बर्दिवासमा मुआब्जा विवाद नटुंगिदा रेलमार्गको काम पनि महोत्तरीको भंगाहा-४ स्थित विजलपुरा सम्म आएर रोकिएको अवस्था रहेको छ ।
प्रजिअ भट्टराईको अनुसार अबको एक महिना भित्र मुआब्जा वितरणको काम अघि बढ्ने छ । उनले रेल्वेले रोक्का गरेको जग्गालाई ३२ किसिममा विभाजन गरी न्यूनतम ७ लाखको कट्ठादेखि अधिकतम ८१ लाखसम्म मुआब्जा निर्धारण गरिएको बताए ।
यसरी मुआब्जा वितरण गर्दा बर्दिवासका करिब डेढ सय व्यक्तिलाई सरकारले २ अर्ब ३० करोड मुआब्जा बापतको रकम वितरण गर्नुपर्ने भएको छ ।
बर्दिवासको मुआब्जा विवाद टंगिनुलाई सकारात्मक रुपमा लिएको बताउँदै स्थानीय वर्दिवास १४ का जन्नुलाल महतोले आफ्नो झण्डै १० कट्ठा जग्गाको मुआब्जा पाउनुपर्ने बताए । उनले सरकारले यसरी किसानहरुलाई मुआब्जा दिएकोलाई अन्धकार हटाएर खुशी दिएको संज्ञा दिए । महताले भने, ‘ विगत ७ वर्षदेखि रेल्वेले रोकाएर राखेपछि जग्गा भोगचलन गर्न नपाउँदा के हुने हो के नहुने हो भन्ने अन्यौलको अवस्थामा जग्गाको मुआब्जा निर्धारण हुनु हामी सबै बर्दिवासवासीको लागि खुशीको कुरा हो ।’
उनि संगै मुआब्जाको बारे भएको मुल्य निर्धाणले गर्दा रेल्वेको लिक र स्टेशनमा पर्ने आफ्नो जग्गाको मुआब्जा माग गर्दै आएका धेरै स्थानीयहरु खुशी भएका छन् ।
मुआब्जा विवादकै कारण सरकारले मुआब्जा वितरण नगर्दा जयनगर-बर्दिवास र पूर्व-पश्चिम रेलमार्गको साझा स्टेशन बस्ने बर्दिवास ७ वर्षदेखि काम अगाडि बढ्न सकेको थिएन ।अब यो मुआब्जा विवाद टुंगिए संगै रेल्वेको काम पनि अघि बढ्ने भएको छ ।