
जनकपुरधाम - ‘वनस्पतिको सम्भार, सुख र समृद्धिको आधार’ भन्ने मूल नारासहित २६औं वनस्पति दिवस धनुषाधामस्थित वनस्पति अनुसन्धान केन्द्रमा भव्य रूपमा मनाइएको छ । वन, वातावरण तथा जैविक विविधताको संरक्षणप्रति जनचेतना जगाउने उद्देश्यसहित मनाइएको दिवसमा संघीय तथा प्रदेश सांसददेखि विज्ञ, सरोकारवाला र समुदायका प्रतिनिधिसम्मको उल्लेखनीय सहभागिता रह्यो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व वन तथा वातावरण राज्यमन्त्री एवम् संघीय सांसद दीपक कार्की थिए भने विशिष्ट अतिथिका रूपमा प्रदेश सभा सदस्य राम अशिष यादव उपस्थित थिए । कार्यक्रमको अध्यक्षता वनस्पति अनुसन्धान केन्द्रका प्रमुखले गरेका थिए ।
दिवसको विशेष अवसरमा संघीय सांसद कार्की र प्रदेश सांसद यादवले सहभागीमध्ये विशिष्ट योगदान पुर्याएका व्यक्तित्वहरूलाई दोसल्ला ओढाएर र चन्दनको बिरुवा गमलासहित प्रदान गरी सम्मान गरे । सम्मानितहरूमध्ये एक सुरेश शर्माले भने, ‘वनस्पति संरक्षण हाम्रो संस्कृति, स्वास्थ्य र अर्थतन्त्रसँग जोडिएको विषय हो । यस्तो सम्मानले जिम्मेवारी अझ बढाउँछ ।’
संघीय सांसद कार्कीले वनस्पतिको संरक्षणलाई केवल वातावरणीय सन्दर्भमा सीमित नराखी आर्थिक समृद्धिको माध्यमका रूपमा पनि लिनुपर्ने बताए । ‘औषधीय वनस्पति, जैविक विविधता र स्थानीय ज्ञानको वैज्ञानिक प्रयोगबाट स्थानीय स्तरमै रोजगारी र आय आर्जनको नयाँ अवसर सिर्जना गर्न सकिन्छ,’ उनले भने ।
प्रदेश सांसद राम अशिष यादवले प्रदेश सरकारले अनुसन्धान र संरक्षणमा हातेमालो गर्न तयार रहेको बताए । ‘हामी नीतिगत रूपमा वनस्पति अनुसन्धान केन्द्र जस्ता संस्थाहरूलाई प्रवद्र्धन गर्न प्रतिबद्ध छौं,’ यादवले बताए ।
कार्यक्रममा अन्य वक्ताहरूले समेत जैविक विविधताको दिगो उपयोग, जैविक खेतीमा वनस्पतिको प्रयोग र जलवायु परिवर्तनसँग लड्न स्थानीय वनस्पतिको भूमिकामाथि जोड दिएका थिए ।
धनुषाधाम वनस्पति अनुसन्धान केन्द्रले जैविक विविधताको संरक्षण, औषधीय वनस्पतिको प्रवद्र्धन तथा वैज्ञानिक अध्ययनलाई अघि बढाउँदै आएको उल्लेख गर्दै यस वर्षको दिवसलाई अझ जनमुखी बनाउन विशेष प्रयास गरिएको बतायो ।