महोत्तरी - महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित आर.एस. थकाली होटलमा स्वास्थ्य कार्यालय महोत्तरीद्वारा आयोजित दुई दिने जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षा गोष्ठी सफलता पूर्वक सम्पन्न भएको छ।
स्वास्थ्य कार्यालय महोत्तरीका कार्यालय प्रमुख नवल किशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा स्वास्थ्य निर्देशनालयका प्रमुख सरोज चन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव, रामप्रसाद लामिछाने, गणपति श्री गोरखनाथ, सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारी, स्वास्थ्य कार्यालयकी फोकल पर्सन प्रतिभा सिंहलगायत जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

गोष्ठीमा जिल्लाभर सञ्चालन भइरहेका विभिन्न स्वास्थ्य कार्यक्रमहरूको कार्योन्वयन स्थिति, सेवा प्रवाह, स्रोत–साधनको उपयोग, कार्यक्रमको प्रभावकारिता तथा सुधारका क्षेत्र बारे विस्तृत प्रस्तुति तथा छलफल गरिएको थियो। स्वास्थ्य सेवा समन्वय, आगामी नीति–दिशानिर्देशन र कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका चुनौती समाधानका लागि गोष्ठी महत्वपूर्ण आधार बन्ने अपेक्षा राखिएको छ।

वार्षिक मूल्याङ्कनमा औरही नगरपालिका प्रथम
दुई दिनसम्म चलेको गोष्ठीले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको प्रगतिको आधारमा जिल्लाका १० नगरपालिका तथा ५ गाउँपालिकामध्ये औरही नगरपालिकालाई ८१.४० अंकसहित प्रथम भएको छ।त्यसैगरी मटिहानी नगरपालिका ७९.६१ अंकसहित दोस्रो, र मनराशिस्वा नगरपालिका ७९.१५ अंकसहित तेस्रो स्थानमा रहेका छन्।कार्यालय प्रमुख तथा तथ्याङ्क अधिकृत नवल किशोर साहका अनुसार बर्दिवास नगरपालिका ७८.८९ अंकसहित चौथो र पिपरा गाउँपालिका ७८ अंकसहित पाँचौँ स्थानमा परेका छन्।
अन्य पालिकाहरूको प्राप्ताङ्क यसप्रकार छः
महोत्तरी गाउँपालिका – ७७.६०
एकडारा गाउँपालिका – ७६.४७
भंगाहा नगरपालिका – ७६.३४
गौशाला नगरपालिका – ७६.०५
जलेश्वर नगरपालिका – ७५.०५
बलबा नगरपालिका – ७०.०५
रामगोपालपुर नगरपालिका – ६७.३९
लोहारपट्टी नगरपालिका – ६६.५१
सम्सी गाउँपालिका – ६४.४०
सोनामा गाउँपालिका – ६२.२३
स्वास्थ्य कार्यालयका अनुसार खोप कार्यक्रमको उपलब्धि, स्वास्थ्य संस्थाहरूबाट उपलब्ध गराइने सेवाको स्तर, संस्थागत सुत्केरीदर, कुपोषणको अवस्था, क्षयरोग तथा एचआइभी संक्रमितको उपचार प्रगति, स्वास्थ्य विवरण पठाउने नियमितता लगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको हो।
औरही नगरप्रमुखको प्रतिक्रिया
स्वास्थ्य सूचकका आधारमा जिल्लामै प्रथम बन्न सफल औरही नगरपालिकाका नगरप्रमुख प्रदीप कुमार खड्काले स्वास्थ्यकर्मी, कर्मचारी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाप्रति कृतज्ञता व्यक्त गर्दै भने—
“नगरवासीको स्वास्थ्य सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेर निरन्तर सेवा प्रदान गर्दै आउनुभएका स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूको समर्पण, इमान्दारिता र निरन्तर परिश्रमकै परिणामस्वरूप हाम्रो नगरपालिका जिल्लामा पहिलो बन्न सफल भएको हो। आगामी दिनहरूमा स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र परिणाम अझ सुदृढ बनाउन नगरपालिका निरन्तर प्रतिबद्ध रहनेछ।”
आगामी वर्षका कार्यक्रम थप प्रभावकारी बनाइने प्रतिवद्धता
गोष्ठी सफलतापूर्वक समापन गर्दै स्वास्थ्य कार्यालय महोत्तरीले आगामी वर्षका स्वास्थ्य कार्यक्रमहरूलाई अझ प्रभावकारी र परिणाममुखी बनाइने प्रतिबद्धता जनाएको छ।




