
महोत्तरी - राष्ट्रिय महिला क्रिकेट टोलीकी उदयीमान खेलाडी तथा १९ वर्षमुनिको नेपाली महिला क्रिकेट टिमकी कप्तान पूजा कुमारी महतोलाई गौशाला नगरपालिकाले मानार्थ खेलकुद अधिकृत पदमा नियुक्त गरेको छ । नगरपालिका वडा नं. ९ निवासी महतो गौशालाकै गौरवमयी छविका रूपमा उभिएकी छन् ।
नगरपालिकाको शिक्षा तथा खेलकुद शाखामा मानार्थ खेलकुद अधिकृत पद सृजना गरि उनलाई अधिकृतस्तर छैठौं श्रेणीअनुसारको पारिश्रमिक प्रदान गर्ने निर्णय गरिएको हो । सो निर्णयलाई नगरपालिकाले युवा प्रतिभाको सम्मान र प्रेरणाका रूपमा व्याख्या गरेको छ ।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले भने, ‘पूजा महतोले देशकै गौरव बढाउने काम गरेकी छन् । उनी हाम्रो नगरको मात्रै नभई सम्पूर्ण मधेशको शान बनेकी छन् । यस्तो प्रतिभालाई संस्थागत सम्मान दिइनुपर्छ भन्ने सोचले हामीले यो निर्णय गरेका हौं ।’
डा. महतोका अनुसार पूजा महतोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रतिनिधित्व गर्दै महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन् । ‘हाम्रो नगरबाट राष्ट्रिय स्तरमा पुग्ने महिला खेलाडी निकै थोरै छन् । पूजा जस्ती खेलाडीले समाजमा सकारात्मक सन्देश दिएको छ । त्यसैले हामीले उनलाई नगरपालिका तहमै सम्मान गर्न चाह्यौं,’ नगर प्रमुख महतोले थपे ।
नगर प्रमुखले खेलकुद क्षेत्रको विकास र प्रतिभाशाली खेलाडीहरूलाई प्रोत्साहन गर्न गौशाला नगरपालिका सदैव प्रतिबद्ध रहेको पनि बताए । नगरपालिकाले अन्य खेलाडीहरूका लागि पनि पुरस्कार, छात्रवृत्ति तथा विशेष सहयोग कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकारी गराइएको छ ।
पूजा महतोको यो नियुक्तिलाई सामाजिक सञ्जालमा व्यापक समर्थन र प्रशंसा प्राप्त भएको छ । स्थानीय युवा, खेलाडी र खेलप्रेमीहरूबीच यस निर्णयले उत्साह थपेको छ ।
