
जनकपुरधाम- सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको हत्या प्रकरणमा उच्च अदालत जनकपुरले मोबाइल अडियो परीक्षणमा संलग्न विशेषज्ञलाई अदालतमा बोलाउने आदेश दिएको छ ।
बुधबार उच्च अदालत जनकपुरका न्यायाधीश नरिश्वर भण्डारी र जगदीश घिमिरेको संयुक्त इजलासले साइबर विशेषज्ञ आनन्द निरौलालाई बयानका लागि तलबासी उपस्थित गराउन आदेश दिएको हो ।
यसअघि पनि प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोबाट दुई विशेषज्ञ—आनन्द निरौला र दक्षेपी शेर्पालाई अदालतमा बोलाउने आदेश भएको थियो । तीमध्ये शेर्पाले अदालतमा बयान दिएका थिए । तर, निरौला कोरियामा तालिममा रहेका कारण सो समय बयान दिन सकेका थिएनन् ।

अदालतका उपरजिस्ट्रार सुशील यादवका अनुसार निरौला र शेर्पा दुबैजनाले असई विक हत्यामा संलग्न ठहर गरिएका आरोपीहरूको मोबाइल फोनमा भएको अडियो कल परीक्षण गरेका थिए । परीक्षणको विषयमा अझ प्रस्ट जानकारी आवश्यक परेकाले निरौलालाई पुनः बोलाइएको हो ।
यो मुद्दामा मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्मा, जलेश्वरका पूर्वमेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायसहित थुप्रै राजनीतिक र सामाजिक व्यक्ति प्रतिवादीका रूपमा रहेका छन् ।
थमन विकको हत्या २०७२ साल भदौ २५ गते दोस्रो मधेश आन्दोलनका क्रममा भएको थियो । महोत्तरीमा एम्बुलेन्सबाट जबरजस्ती निकालेर उनलाई निर्मम ढंगले हत्या गरिएको आरोपमा सोही वर्ष फागुन २७ गते २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनी मुद्दा दर्ता भएको थियो ।
२०७२ को घटनासँग सम्बन्धित मुद्दामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते फैसला सुनाएको थियो । उक्त फैसलामा नेकपा एमालेका संघीय सांसद लक्ष्मी महतो कोइरीलाई सफाइ दिइएको थियो भने अभिराम शर्मालाई जन्मकैदको सजाय सुनाइएको थियो ।
अभिराम शर्मा त्यसबेला दोस्रो कार्यकालका प्रदेश सांसद थिए । अदालतको फैसलापछि प्रदेश सभाले उनलाई २०८० वैशाख १८ गतेदेखि निलम्बन गर्यो । शर्मा र अन्य प्रतिवादीहरूका विपक्षमा अहिले उच्च अदालतमा मुद्दा पुनरावलोकनको चरणमा छ ।
न्यायिक निष्कर्षमा पुग्न अझै केही चरण बाँकी रहेको देखिन्छ ।