
महोत्तरी - महोत्तरीको बलवा नगरपालिकास्थित पडौल स्थानमा मदिरा सेवन गरेका एक समूहको आक्रमणबाट प्रसाद खान पुगेका करिब एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
जिल्लाको बलवा नगरपालिकास्थित पडौल स्थानमा प्रसाद खान गएका व्यक्तिहरूमाथि मदिरा सेवन गरेका एक समूहले आक्रमण गरेको घटनामा करिब १२ जना गम्भीर घाइते भएका छन् ।
सो आक्रमणकारीहरूले खुकुरी, रड र छुराको प्रयोग गरी निर्दोष व्यक्तिहरूलाई चपेटामा पारेका थिए । सो घटनामा गम्भीर घाइते भएका व्यक्तिहरूमा हुकुम देव साह, मिना देवी, ललित मण्डल, रवि साह, सिकेन्द्र झा, विशुन देव साह, रिना देवी, रानी साह, तिलक साह, ऋषि राज साह, चन्द्रकला देवी साह, र धिरज साहलगायतका रहेका छन् । घाइतेहरूको उपचार हाल जनकपुरधामस्थित प्रदेशिक अस्पतालमा भइरहेको जनाइएको छ । केही व्यक्तिको अवस्था गम्भीर रहेको छ भने हुकुम देव साह र मिना देवीलाई खुकुरी र रडको प्रहारबाट गम्भीर चोट लागेको छ ।
स्रोतले जनाए अनुसार घटनामा संलग्न चार व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरूलाई बलवा प्रहरी चौकीमा राखिएको छ । स्थानीय प्रशासनले थप अनुसन्धान गरिरहेको छ । घाइतेमध्ये केही व्यक्तिहरूलाई काठमाण्डु रेफर गर्ने तयारी भइरहेको छ ।
स्थानीय प्रशासनले घटनामा संलग्न व्यक्तिहरूसँग कडाईका साथ अनुसन्धान गर्न थालिसकेको छ । तर केही स्थानीय नेताहरूले पक्राउ गरिएका व्यक्तिहरूलाई तत्काल रिहा गर्न दबाब दिइरहेका छन् । केही नेताहरूले घटनामा संलग्न चार जनालाई छोडनका लागि दबाब दिन थालेका छन् ।