
महोत्तरी । महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मोहनपुरमा घरतर्फ फर्किरहेका एक वृद्धलाई घाँटीमा छुरा हानी ज्यान मार्ने प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति सोही स्थानका ३५ वर्षीय साविर खाँ उर्फ पचुवा रहेका छन् । उनलाई लागुऔषध दुव्र्यसनी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्ति भनेर चिनिन्छ ।
घटनामा घाइते भएका ६५ वर्षीय रामकृत महतो हाल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन् । अस्पताल स्रोतका अनुसार घाइतेको अवस्था खतरामुक्त भए पनि मानसिक रूपमा उनी अत्यन्त आहत छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलालप्रसाद जयसवारले घटना पुष्टि गर्दै भने, ‘अपराधीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।’
रामकृत महतो घर फर्कंदै गर्दा बाटोमा साविरले उनीमाथि घेरा हाली पैसा मागेका थिए । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार जब वृद्धले पैसा दिन अस्वीकार गरे साविरले रिसको झोँकमा छुरा निकालेर रामकृतको घाँटीमा प्रहार गरे । तुरुन्तै घाइते वृद्धलाई स्थानीयहरूले उद्धार गरी अस्पताल पुर्याएका थिए ।
साविरले गाउँका अन्य व्यक्तिहरूमाथि पनि आक्रोश पोख्दै कुटपिट तथा लुटपाट गरेको बताइएको छ । साविर केही महिना पहिले मात्र चोरी तथा आपराधिक गतिविधिमा संलग्न रहेर जेलबाट छुटेका थिए । उनको नाममा पहिलेका आपराधिक अभिलेखहरू समेत रहेको प्रहरी स्रोतले जनाएको छ ।
स्थानीय बासिन्दाहरूका अनुसार साविर खाँ लामो समयदेखि लागुऔषधको दुव्र्यसनमा छन् । उनीबाट गाउँका महिला, बालबालिका, वृद्धवृद्धासमेत असुरक्षित महसूस गरिरहेका छन् । ‘उनी जेलबाट छुटेपछि झनै आक्रामक भएका छन्,’ एक स्थानीयले भने, ‘साँझपख महिला र बालबालिका घरबाहिर निस्कन डराउँछन् ।’
वडाध्यक्ष सकिबुल खाँले पनि साविरको विगतका क्रियाकलापप्रति चिन्ता व्यक्त गर्दै भने, ‘साविरले यसअघि पनि गाउँमा कयौं घटना घटाइसकेका छन् । उसलाई समयमै नियन्त्रण नगरे ठूलो क्षति हुन सक्छ ।’
घटनापश्चात् साविरलाई पक्राउ गरिए पनि स्थानीय प्रशासनप्रति जनविश्वास खस्कँदो देखिएको छ । गाउँलेहरूका अनुसार यस्ता आपराधिक मानसिकता भएका व्यक्ति जेलबाट छुटेपछि पुनः अपराधमा फर्कने चक्र दोहोरिरहन्छ । तर, प्रशासनको पुनस्र्थापना तथा सुधार सम्बन्धी पहल कमजोर छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा लागुऔषध दुव्र्यसन, बेरोजगारी र अशिक्षाका कारण यस्ता घटना बढ्दै गएका छन् ।