
जीवनराज दाहाल,बर्दिवास(महोत्तरी)- नेपालको राजधानी काठमाडौँलाई पूर्वी भागसँग जोड्ने बीपी राजमार्गले जस्तो चर्चा कमाएको छ, त्यसैगरी महेन्द्र राजमार्गसँग जोडिएको महोत्तरीको बर्दिवास शहर पनि तीव्र विकासका कारण चर्चा र सम्भावनाको केन्द्र बन्न थालेको छ । पछिल्ला वर्षहरूमा यहाँको व्यापार, व्यवसाय र जनजीवनमा उल्लेखनीय परिवर्तन आएको छ ।
यस परिवर्तनमा सघन भूमिका निर्वाह गर्दै आएको बर्दिवास उद्योग वाणिज्य संघले व्यवसायीको हक, हित र सुरक्षाका निम्ति आफ्ना गतिविधिहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै आएको छ । संघका पदाधिकारीहरूका अनुसार संघले आफ्नो कार्यशैलीमा निरन्तर सुधार ल्याउँदै, हालै भवन निर्माण कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढाएको छ ।
संघका अध्यक्षले जानकारी दिएअनुसार छोटो कार्यकालमै धेरै उपलब्धिहरू हासिल गरिसकेको संघले अबको बाँकी अवधिमा अझ ठूला सुधार गर्ने लक्ष्य लिएको छ । भवन निर्माणसँगै पानीको ट्याङ्की निर्माण, व्यवसायीहरूका लागि पारिवारिक सुविधा प्रवर्द्धन लगायतका कार्यहरू पनि संघको कार्यसूचीमा छन् ।
त्यसैगरी संघले देशका विभिन्न स्थानबाट बर्दिवासमा आगमन गर्ने विशिष्ट व्यक्तिहरूको स्वागत–सत्कार गर्दै आएको छ । हालै, भवन निर्माणको क्रममा अवलोकन भ्रमणमा आएका ॐकार टेलिभिजनका संस्थापक तथा लड्केश्वर धामका पीठाधीश्वर श्री मुकुन्द शर्मा हुमागाईलाई संघले विशेष सम्मानसमेत गरेको छ । संघका पदाधिकारीहरूले हुमागाईको आगमनलाई 'सौभाग्य'को संज्ञा दिँदै स्वागत तथा कृतज्ञता व्यक्त गरेका थिए ।
संघको भवन निर्माण कार्य सम्पन्नताका दिशामा अघि बढ्दै गर्दा बर्दिवासको समग्र आर्थिक र भौतिक विकासमा थप गति मिल्ने अपेक्षा गरिएको छ ।