
कमलेश ठाकुर
जनकपुरधाम — चार भारतीय क्रिकेट टिमसहित तेस्रो ‘जनकपुरधाम मेयर कप’ हुने भएको छ । यही साताको शुक्रबार (पर्सि)देखि अगामी जेठ २ गतेसम्म कप हुन लागेको हो । जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघ धनुषाको सहकार्यमा हुन लागेको यस कपमा भारतबाट चार टिम प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष शोभाकान्त (गुड्डु) पाण्डेले जानकारी दिए ।
उनका अनुसार भारतको दिल्ली, लखनऊ, मुझपरपुर र पुर्णिया सहरबाट एक–एक टिम पनि सहभागी हुने छन् । बाँकी मधेश प्रदेशको आठै जिल्लाको टिम खेलमा सहभागी हुँदै छन् । चार वटा समूमा टिमलाई विभाजन गरिएको छ । चारै टिममा एक–एक भारतीय टिम राखिएको छ । लिग प्रणालीमा हुने यस खेलको उद्घाटन खेलमा धनुषा र सर्लाहीबीच प्रतिस्पर्धा हुने आयोजक संस्थाले जनाएको छ ।
कुल ३५ लाख अनुमानित लागतमा हुने यस प्रतियोगितामा २० लाख पालिका, नेपाल क्रिकेट संघ र स्पोन्सरले दिइने छन् । दक्ष खेलाडीसँग प्रतिस्पर्धा गराउन, खेलकुदमा आकषर्ण बढाउन, निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको प्रचारप्रसार गर्न र दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले पालिकासँग सहकार्य गरेर कप आयोजना गर्न लागिएको अध्यक्ष पाण्डेले बताए ।
कपको तयारी अन्तिम चरणमा पुगेको क्रिकेट संघका सदस्य सरोजकुमार मिश्रले बताए । दुई सातादेखि टेक्निकल टिमको सहयोगमा मैदान र पिच उत्तम बनाउने काम भइरहेको उनको कथन छ । गत वर्ष मेयर कपमा धनुषालाई पराजित गर्दै बारा क्रिकेट टिम उपाधि उचालेका थिए भने प्रथम मेयर कपमा बारालाई पराजित गर्दै धनुषा विजयी भएका थिए ।-कान्तिपुर