
भारतले पाकिस्तानमा आतंकवादीको अड्डाहरुमा आक्रमण गरेसँगै दुई देशबीच उत्पन्न तनावको प्रभाव नेपालमा पनि देखिन थालेको छ ।
भारतको पवित्र तीर्थस्थल अमरनाथ(बर्फानी) बाबाको यात्रामा रहेका १ जना नेपाली सहित २६ जना भारतीय तीर्थयात्रीको पाकिस्तानमा अड्डा बनाएका आतंकवादीहरुले क्रुरतापूर्वक हत्या गरेको थियो ।
भारतले त्यसको कडा जवाफ दिदै ‘अप्रेशन सिन्दुर’ नाम दिएको आतंकवादी विरुद्धको प्रभावशाली कारबाहीमा जनधनको ठूलो क्षति पु¥याएको छ । भारतले गरेको कारबाहीबाट आक्रोशित बनेको पाकिस्तानले हिंसात्मक घटना गर्न सक्ने त्रास देखिएको छ । भारतबाट नेपाल आउने तीर्थयात्रीहरुले होटेल, यातायातलगायतका बुकिंगहरु रद्द गर्न थालेका छन् । जनकपुरधामस्थित अञ्जनी स्विट होटेलका प्रबन्धक सन्देशले जनाए अनुसार होटेलको अग्रीम बुकिंगलाई रद्द गर्न थालिएको छ ।
‘भारतीय टुर्स एण्ड ट्राभल्सले अग्रीम बुकिंग गरेको होटेल र यातायात रद्द गर्न थालेका छन्’ उनले भने, भारतीय नागरिकहरु अहिले विदेश जाने कार्यक्रम रद्द गरेको बताइएको छ । आतंकवादीहरुले भारतको कश्मीर राज्यको पहलगाममा तीर्थयात्रीहरुको हत्या गरेदेखि नै नेपाल आउने भारतीय पर्यटकको संख्यामा कमी आउन थालेको थियो । तर भारतले आतंकवादी अड्डाहरुमा आक्रमण गरेपछि आगामी महिनाहरुको बुकिंग रद्द हुन थालेको होटेल व्यवसायीहरुले बताउन थालेका छन् ।
अयोध्यामा भगवान रामललाको नयाँ मन्दिरमा प्राण प्रतिष्ठा भएदेखि जनकपुरधामसमेत नेपाल आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको थियो । भारतले पाकिस्तानसितको आउजाउ गर्ने सबै मार्ग बन्द गरेकाले पाकिस्तानीहरु नेपालको मार्ग प्रयोग गरी भारतमा जान सक्ने सम्भावनालाई दृष्टिगत गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
भारत र नेपालबीचको सीमा क्षेत्रमा दुवै तर्फका सुरक्षाकर्मीहरु ‘हाई अलर्ट’मा रहेका छन् । सीमा क्षेत्रमा ओहरदोहर गर्ने सबैको परिचय खुल्ने प्रमाण पत्र अनिवार्य रुपमा हेर्ने र सुरक्षादृष्टिले आवश्यक सबै जाँच गर्न थालिएको छ । सीमाक्षेत्रमा २४ घण्टे गस्ती गर्न थालिएको छ । दुबै देशका सुरक्षाकर्मीहरुले संयुक्त र छुट्टाछुट्टै गस्ती गर्न थालेको अधिकारीहरुले बताएका छन् ।
सशस्त्र प्रहरी बल धनुषाका प्रमुख एसपी निर्मल खड् काले जनाए अनुसार सामान्य अवस्थाको भन्दा अहिले सीमा क्षेत्रमा कडाइ गरिएको बताएका छन् । ‘भारत र पाकिस्तानबीच तनावपूर्ण माहोल देखिएको छ’ उनले भने, नेपाली भूमि भएर संदिग्ध गतिविधिलाई रोक्न निगरानी बढाइएको छ । भारतले आतंकवादी विरुद्ध गरेको कारबाहीलाई नेपाल समेत विभिन्न राष्ट्रहरुले समर्थन जनाउन थालेका छन् । नेपालले आतंकबाद विरुद्धको युद्धमा भारतसित उभिएको बताएको छ ।
पाकिस्तानी महिला सीमा हैदर नेपालको मार्ग भएर भारतको राजधानी दिल्लीसम्म पुगेकी थिइन् । त्यसपछि नेपाल र भारतबीचको अधिकांश नाकाहरुबाट सवारी साधन आउजाउमा रोक लगाइएको छ । हाल एउटा जिल्लाबाट एउटा मात्र नाका प्रयोग गर्न दिइएको छ । सवारी साधन र त्यसमा सवार व्यक्तिहरुलाई सीमा क्षेत्रमा विशेष जाँच गर्न थालिएको छ ।
सीमावर्ती नेपाल र भारतका वासिन्दाहरुको बोलीचाली, भेषभुषा र भाषा समेत समान रहेको छ । कतिपय पाकिस्तानी मुसलमानहरुको पनि भाषा र भेषभुषा मिल्दोजुल्दो भएकाले नक्कली पहिचान पत्रको आधारमा भारतबाट निस्कन सक्ने अथवा भारतमा जान सक्ने उच्च जोखिम छ ।
भारतले पाकिस्तानसितको स्थल, जल र हवाई मार्गमा पूर्ण प्रतिबन्ध लगाएकोले कतार, सउदी अरेयिबालगायतका देशहरुमा जान पनि नेपालको मार्ग प्रयोग गर्न सकिने सम्भावना छ । त्यसकारण सीमाक्षेत्रमा अलर्ट बढाइएको एसपी खड्काले बताए । भारत–पाक तनावको प्रभाव नेपालमा अझै केही दिन रहने उनले बताए ।
आतंकवाद विरुद्धको अभियानमा भारतले पाइरहेको समर्थनको कारण पाकिस्तानले आक्रमण गर्ने दुस्साहस गर्ने सम्भावना कमजोर हुँदै गएको छ । तर पाकिस्तानको तर्फबाट हुन सक्ने प्रतिक्रियालाई भारतले गम्भीरतापूर्वक नियालिरहेको छ । भारत र पाकबीचको तनाव सामान्य नभएसम्म पर्यटन क्षेत्रमा असर रहिरहने विज्ञहरु बताउँछन् । हुन त यस अघि भारतले पाकिस्तानमा सर्जिकल स्ट्राइक गरेको जवाफ पनि पाकिस्तानले फर्काउन सकेको थिएन ।