
धनुषा,मिथिला विहारी - धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका वडा नं. ३ अन्तर्गत रहेको मावि मिथलेश्वर मौवाहीका विद्यार्थीहरू आन्दोलित भएका छन्। जनकपुर–धनुषाधाम सडकखण्ड अन्तर्गत नगरपालिका कार्यालय अगाडि सडक अवरुद्ध गरी विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
विद्यार्थीहरूले टायर बालेर सडक जाम गर्दै नगरपालिका र विद्यालय प्रशासनविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरूले विद्यालयमा शिक्षाको गुणस्तर सुधार, खानेपानीको व्यवस्था, छात्रवृत्ति वितरण, कक्षा १० को रजिस्ट्रेसन फारम भराउने व्यवस्था मिलाउने र विद्यालयका प्रधानाध्यापक रामजिवन दाहालाई हटाउने लगायतका माग राखेका छन्।
विद्यार्थीहरूका अनुसार पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिका र विद्यालय प्रशासनले समस्या समाधानतर्फ कुनै चासो नदेखाएको कारण बाध्य भएर सडकमा उत्रनु परेको हो।
प्रदर्शन हिंसात्मक रूप लिने संकेत देखिएको छ। केही विद्यार्थीहरू नगरपालिकाको मूलगेट तोडफोड गर्दै जबरजस्ती प्रवेश गर्ने प्रयासमा रहेको जनाइएको छ।
यस विषयमा अहिलेसम्म नगरपालिका वा विद्यालय प्रशासनको आधिकारिक धारणा सार्वजनिक भएको छैन।