
जनकपुरधाम- नेपाली काँग्रेसका धनुषा जिल्ला सभापति योगेन्द्र पजियारले पार्टीको विधान अनुसार चल्ने दिन आएको हुदाँ कसैले पनि पार्टीप्रति शंका गर्नु नपर्नेमा प्रस्ट हुनुपर्ने बताएका छन् ।
धनुषाको महेन्द्रनगरमा विहिवार आयोजित नेपाली काँग्रेसको क्षीरेश्वरनाथ नगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पजियारले सङ्गठन निर्माण र सुदृढीकरणका लागी पार्टी सम्बद्ध सबै तहका नेता कार्यकर्ता एक जुट भएर लाग्न अनुरोध गर्दै नेता कार्यकर्ता सबैले आफ्नो जिम्मेवारी वहन गरी पार्टीलाई चलायमान बनाउन हुन अनुरोध गरे।

उनले आगामी दिनमा गल्तीबाट पाठ सिक्न जरुरी भएको बताउँदै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औल्याए। उनले कसैको धाक धम्की र प्रलोभनमा नपरी पार्टीको सङ्गठन निर्माणमा लाग्न हुन अनुरोध गर्दै गुटको राजनीति गर्न नहुनेमा जोड दिए ।

सभापति पजियारले युवाहरूले गुटलाई प्रवर्द्धन गर्ने गतिविधि गर्न नहुने बताउँदै पार्टी सङ्गठनलाई अघि बढाउन आफ्नो तहबाट सबै किसिमको प्रयास रहेको बताए ।
उनले धनुषाका जनताको सामाजिक, आर्थिक विकासकालागि जनचाहना अनुरूप पार्टी सम्बद्ध नेता कार्यकर्ताले लाग्नु पर्ने बताए।

पूर्व क्षीरेश्वरनाथ नगरपालिका मेयर समेत रहेका पजियारले अहिले नयाँ जनप्रतिनिधिले एक वर्ष विताई सकेपनि नगरको विकास र जनताको लागि केहि गर्न नसकेको बताए । उनले यस आर्थिक वर्षको सबै खाले बजेट फ्रिज हुने बेला भईसकेको बताउँदै उनले भने, “यसरी जनताको नाममा आएका लाखौं बजेट खेर गइरहेको छ, नगरपालिकालाई मनपरी ढंगले चलाउन खोजेका छन्, काँग्रेस सधै चुपचाप हेरेर अब बस्न सक्दैन ।”

नेता पजियारले अब पनि पालिका नेतृत्वले गम्भिर भएर जनताको लागि काम गरेनन् भने काँग्रेसको नेतृत्वमा आन्दोलन हुने चेतावनी समेत दिए ।
नेपाली काँग्रेसका क्षीरेश्वनाथ नगरपालिका नगर सभापति लालबाबु यादवको अध्यक्षतामा सम्पन्न सम्मेलनलाई सचिव गोबिन्द गिरिले संचालन गरेका थिए ।

कार्यक्रमा पार्टीको जिल्ला, क्षेत्र, नगर, वडा लगायत विभिन्न स्तरका प्रतिनिधि तथा नगरका सबै क्रियाशिल सदस्य तथा पार्टी शुभेच्छुक शुभचिन्तक समर्थकहरुको उल्लेख्य सभागिता रहेको थियो ।