बर्दिवास नगरपालिकाको आर्थिक सहयोगमा बहुउपयोगी भवनको स्तरोन्नति कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। नगर क्षेत्रको सामाजिक, सांस्कृतिक र प्रशासनिक आवश्यकतालाई समेत पुरा गर्ने उद्देश्यले सुरु गरिएको यस भबनको सोमवार बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीले एक बिशेष कार्यक्रमकाबिच सिल्यान्यास गरेका हुन् ।

विगतमा निर्माण गरिएको बहुउपयोगी भवनमा विविध कार्यक्रमहरू सञ्चालन भए तापनि आवश्यक पूर्वाधार र सुविधाको अभावले सो भवनले अपेक्षित सेवा दिन नसकेको गुनासो स्थानीय तहमा सुनिँदै आएको थियो। सोही कारण, नगरपालिकाले चालु आर्थिक वर्षमा भवनको स्तरोन्नतिको योजना अनुसार ३० लाख बजेट विनियोजन गरेको हो। हाल भवनको पुनःनिर्माण तथा स्तरोन्नतिको कार्य सुरु भइसकेको छ।



बर्दिवास नगरपालिकाका प्रमुख प्रह्लाद कुमार क्षेत्रीका अनुसार भवनमा आधुनिक प्रविधियुक्त सुविधाहरू थपिनेछन्। “यस भवनमा बहुउद्देशीय हल, सभाकक्ष, डिजिटल प्रोजेक्सन सिस्टम, वातावरण अनुकूलन प्रणाली, शौचालय,सुरक्षित पार्किङ निर्माण हुँने उनले जानकारी दिए।
यस भबन निर्माणले स्थानीय सामाजिक संघ–संस्था, नागरिक समाज तथा नगरवासीलाई विभिन्न क्रियाकलाप सञ्चालनका लागि सहज बनाउने विश्वास गरिएको छ। भवनमा विवाह, भोज, सभा, सेमिनार, तालिम, सांस्कृतिक कार्यक्रम, सरकारी तथा गैरसरकारी संघ संस्थाका कार्यक्रमहरू सञ्चालन गर्न सकिनेछ।
भबन निर्माणको बिषयमा राष्ट्रिय उपभोक्ता मञ्च महोत्तरीका अध्यक्ष दिपेन्द्र पराजुली भन्छन्, “विगत केहि समययता कार्यक्रम आयोजना गर्न होटल खोज्दै जानु पथ्र्याे अब यो भवनले हाम्रो बर्दिवासको सामाजिक गतिशीलतामा नयाँ आयाम थप्नेछ।”
भबन स्तरोन्नति गरिएको संरचना ४ हजार ९सय ५० वर्गफुट क्षेत्रफलमा फैलिएको छ। जसबाट एकै पटकमा करीब ७ सय मानिसले सेवालिन सक्नेछन्।
भबन परियोजनाको लागत करिब १ करोड ३० लाख रुपैयाँ अनुमान गरिएको भएपनि काम शुरुगर्न हाल नगरपालिकाले ३० लाख रुपैयाँ र जनश्रमदानबाट ५ लाख ३३ हजार ४ सय ४१ रुपैयाँ ५७ पैसा बिनियोजन गरेको बर्दिवास सेवा समितीका अध्यक्ष हिरालाल गौतमले जानकारी दिए । यसैगरी भबन निर्माण सम्पन्नगर्न लाग्ने बाँकी रकम नगरपालिकाले क्रमशः बिनियोजन गर्दै लग्ने छ ।
हाल नगरपालिकाले उपलब्द गराएको रकमले फलामे संरचनाको काम गर्न पुग्ने छ, यसै वर्षको असार ७ गतेसम्म फलामे संरचनाको काम पुरागर्ने लक्ष्य राखिएको भबनको बाकी निर्माण कार्य अगामि बजेटबाट सम्पन्न गरीने छ ।
भवन निर्माणमा स्थानीय स्रोत साधनको अधिकतम प्रयोग तथा पारदर्शिता कायम राखिने र निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरीने बताईएको छ।

यस भबनको स्त्तरोन्नतीले बर्दिवास नगरलाई पूर्वाधारको दृष्टिले थप सबल बनाउनेछ। साथै, यसले नगरभित्र सामाजिक एकता, स्थानीय कामको सहजता र नगरको समग्र विकासमा उल्लेखनीय भूमिका खेल्ने निश्चित देखिन्छ।
बर्दिवासजस्ता तीव्र रूपमा शहरीकरण भइरहेको नगरमा यस्ता सार्वजनिक संरचनाको विकासले आगामी पुस्ताको आवश्यकता समेत पूरा गर्नेछ। यसले स्थानीय नागरिकमा आत्मगौरवको अनुभूति गराउने र नगरको पहिचान अझ प्रस्ट र मजबुत बनाउने विश्वास गरिएको छ।




