नयाँ शैक्षिक सत्रको आगमनसँगै विद्यालयहरू विद्यार्थी भर्ना अभियानमा सक्रिय छन् । सामुदायिक र संस्थागत विद्यालयबीच एक किसिमको प्रतिस्पर्धा पनि देखिन्छ । यसै सन्दर्भमा सञ्चारकर्मी जीवनराज दाहालले सनफ्लावर सेकेन्डरी बोर्डिङ स्कुल धनुषाका संस्थापक तथा प्रिन्सिपल नारायण बास्तोलासँग गरेकाे संवादका सम्पादित अंश:
१. नारायण सर, यो शृङ्खलामा स्वागत छ ।
– धन्यवाद जीवनजी, तपाईंलाई र तपाईंको मिडियामार्फत सम्पूर्ण शुभेच्छुकहरूमा आभार प्रकट गर्न चाहन्छु ।
२. अहिले विद्यार्थी भर्ना अभियानको चटारो छ । प्रिन्सिपलको हैसियतले मुटुको धड्कन कति बढेको छ त ?
– तपाईंको प्रश्न जायज छ । धनुषा जिल्लामा स्थापित हाम्रो विद्यालय सन् २०५१ सालदेखि गुणस्तरीय शिक्षाको अभियानमा क्रियाशील छ । यस सन्दर्भमा ‘धड्कन’ भन्दा पनि अभिभावक र विद्यार्थीले हाम्रोमा देखाएको विश्वास कायम राख्दै उनीहरूको भविष्य सुरक्षित बनाउन सकिने बाटो खोज्नु नै हाम्रो मुख्य चिन्ता हो ।
३. संस्थागत विद्यालयहरूलाई शिक्षाको नाममा कमाउने माध्यम भनेर आलोचना गरिन्छ । तपाईंको धारणा के छ ?
– मकै पिस्दा केही घुन पनि पिसिन्छ भन्ने कुरालाई स्वाभाविक रूपमा लिन्छु । केही निजी विद्यालयहरूले गलत बाटो अँगालेका हुन सक्छन्, तर त्यसको जिम्मेवारी हामी सबैलाई दिन मिल्दैन । हाम्रो उद्देश्य भनेकै न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्नु हो । हामी सबै वर्ग र तहका विद्यार्थीहरूलाई सहज पहुँच हुने गरी शिक्षालाई सर्वसुलभ बनाउनेतर्फ प्रतिबद्ध छौं ।
४. राष्ट्रको समग्र शैक्षिक अवस्थामा संस्थागत विद्यालयको भूमिका कस्तो देख्नुहुन्छ ?
– यस प्रश्नको उत्तर तपाईं आफैंले एसईई नतिजाहरू हेरेर पाउनुहुन्छ । निजी विद्यालयहरूको सफलता स्पष्ट देखिन्छ । धेरै निजी विद्यालयका विद्यार्थीहरू माध्यमिक तहपछि सामुदायिक विद्यालयमा जाने गरेको पाइन्छ। यसलाई म यस्तो उदाहरणबाट बुझाउँछु– कुनै व्यक्तिले विरुवा रोपेर मलजल गर्छ तर अन्त्यमा फलचाहिँ अर्कैले खान्छ ।
५. के तपाईं सामुदायिक विद्यालयहरूको भूमिका छैन भन्न खोज्नु भएको हो त ?
– कदापि होइन । म स्वयं सामुदायिक विद्यालयप्रति सम्मानभाव राख्छु । मेरो भनाइ के मात्र हो भने सामुदायिक विद्यालयहरूले निजी विद्यालयप्रति पूर्वाग्रह नराखून् । उनीहरूलाई राज्यको पूर्ण संरक्षण छ, तर निजी विद्यालयहरू केवल विद्यार्थी शुल्कमा आधारित छन् । त्यहाँबाट पनि हामी सबैलाई समेट्ने प्रयास गरिरहेका छौं । यसर्थ, बदलाको भावना होइन, सहकार्यको भावना आवश्यक छ ।
६. राज्यको व्यवहारबाट कति सन्तुष्ट हुनुहुन्छ ?
– साँचो कुरा भन्नुपर्दा, राज्य निजी विद्यालयप्रति सकारात्मक भन्दा पनि निषेधात्मक व्यवहार गर्दै आएको महसुस हुन्छ । कोरोना महामारीको बेला धेरै साथीहरू संकटमा परे, तर राज्यले खासै चासो देखाएन । हामी कर तिर्छौं, शिक्षित जनशक्ति तयार पार्छौं, रोजगारी सिर्जना गर्छौं – तर पनि राज्यको व्यवहार अपमानजनक छ । यस्ता कुराले कहिलेकाहीँ मन भक्कानिन पुग्छ ।
७. अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
– सबैभन्दा पहिले, मलाई आफ्नो विचार र भावना व्यक्त गर्ने अवसर प्रदान गर्नुभएकोमा तपाईं र तपाईंको मिडियालाई धन्यवाद दिन चाहन्छु । म सबै शुभेच्छुकलाई हाम्रो सनफ्लावर सेकेन्डरी बोर्डिङ स्कुलमा एकपटक अवश्य भ्रमण गर्न निमन्त्रणा दिन चाहन्छु । तपाईंहरूको माया, सल्लाह र सद्भाव नै हाम्रो लागि प्रेरणाको श्रोत हो । हामी गुणस्तरीय शिक्षामा दृढ प्रतिबद्ध छौं ।


