सर्लाही – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२, भेल्हीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
फूलजोर–त्रिभुवनगर सडकमा बीआर ३० डब्लु ३२५२ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ५० वर्षीय रामप्रताप पण्डितको मृत्यु भएको हो । पण्डितको आज बिहान एलएस न्यूरो अस्पताल वीरगन्जमा उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



गएराति ९ बजेतिर भएको सवारी दुर्घटनामा अर्का एक पैदलयात्री, मोटरसाइकल चालक र मोटरसाइकल पछाडि सवार व्यक्ति घाइते भएका छन् । दुर्घटनामा पैदलयात्री ब्रह्मपुरी २ कै ५६ वर्षीया झब्सी सहनी, मोटरसाइकल चालक भारतको सोनवर्षाका २२ वर्षीय वीरजन पटेल र पछाडि सवार सोनवर्षाकै ५४ वर्षीय हजारीप्रसाद रौनियार घाइते भएका छन् ।
घाइतेमध्ये मोटरसाइकल चालक पटेल र रौनियारको अवस्था चिन्ताजनक रहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए । पटेल र रौनियारको एलएस न्यूरो अस्पताल वीरगन्जमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
सामान्य घाइते पैदलयात्री झब्सी सहनी भने प्रादेशिक अस्पताल मलङ्गवामा उपचारपछि घर फर्किसकेको डिएसपी राईले बताए । उनका अनुसार चालकले मदिरा सेवन गरेर तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको हो ।




