जनकपुर-अंशु यादव हत्यामा संलग्नहरूलाई पक्राउ नगरेको भन्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
आइतबार उनीहरू जनकपुरधामको बजरंग चाेकमा भेला भई रामानन्द चौक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका–२३, बिन्धीका १७ वर्षीय अंशु यादवको हत्यामा संलग्नहरूलाई पक्राउ गर्न उनीहरू आइतबार प्रदर्शनमा उत्रेका हुन् ।
गत चैत १७ गते होलीका दिन अंशुलाई छुरा प्रहार गरी हत्या गरेको थियो। प्रहरीले घटना स्थलबाटै उनको हत्या आरोपमा स्थानीय धर्मेन्द्र महतोलाई पक्राउ गरेका थिए । उनलाई जिल्ला अदालत धनुषाले पूपक्षका लागि कारागार पठाइएको छ । हत्यामा संलग्न रहेको आरोप पक्राउ परेका अर्का एक स्थानीय ४५ वर्षीय राम दहिना महतोलाई छाडिसकेको छ।
उनीहरूले भ्रष्ट सरकार मुर्दावाद, स्थानीय प्रशासन मुर्दावाद, न्यायाधीश मुर्दावाद, छोरा मर्यो, न्याय नमरोस् नारासहितको प्लेकार्ड बोकेका थिए।
मृतकका आमा अर्चना यादव र उनकी दुई नाबालिका बहिनी पनि प्रदर्शनमा सहभागी छन् । प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेकाहरूलाई छलफलका लागि भित्र बोलाएर दुई जनालाई पक्राउ परिसकेको र अन्यको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारीको उदृत गर्दै मृतकका आमा अर्चानाले भनिन्, 'हामीलाई भित्र बोलाएर सिडियो साहबले भन्नुभयो,तपाईंको छोराको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेपनि एक जना अदालतले छाडिसकेका छन् । अब त्यसमा हामीले केही गर्न सकिँदैनौँ, तपाईँहरू उच्च अदालत जानुस् ।'
प्रमुख जिल्ला अधिकारी जवाफपछि उनीहरू जिल्ला अदालत अगाडि जान्न खोजेका थिए । तर उनीहरूलाई प्रहरीले अदालत अगाडि जान दिएको छैन । उनीहरू बाटोमै बसेका छन् ।
यसअघि रामानन्द चौकमा बाटो जाम गरी प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा एक घण्टादेखि जनकपुर–ढल्केवर सडक अन्तर्गत रामानन्द चौकमा एक दर्जन सवारी साधनमा तोडफोड गरेका थिए ।
यसअघि पनि दुई पटक मृतक अंशुकी आमासहित स्थानीयले बिन्धीस्थित जनकपुर९ जलेश्वर सडक खण्ड जाम गरेर प्रदर्शन गरेका थिए।
अंशुकी आमा अर्चना यादवले सात जना मिलेर छोरालाई हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन्। तर प्रहरीले यस मुद्दामा दुई जनालाई पक्राउ गरेपनि अन्य ५ जना आरोपी फरार रहेका छन् ।








