महोत्तरी — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ।
सोमबार एक सूचना जारी गर्दै प्रशासनले १५ दिनभित्र इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाई वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो। प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जानकारी दिनुभयो।



उहाँका अनुसार तोकिएको समयमा हातहतियार नबुझाए वा अटेर गरेमा प्रचलित कानुन बमोजिम जफत गरी कानुनी कारबाही अगाडि बढाइनेछ। साथै, बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने र ती हातहतियार सुरक्षित रूपमा राखिने पनि उहाँले बताउनुभयो।
निर्वाचन कार्यालयका अनुसार महोत्तरी जिल्लामा प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्र रहेका छन्। जिल्लामा कुल चार लाख ३१ हजार २८२ जना मतदाता रहेका छन् भने २५८ वटा मतदानस्थल र ५३६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ।




