
काठमाडौं - प्रहरीले पक्राउ परका राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपा सांसद दीपकबहादुर सिंहलाई रिहा गरेको छ ।
राजावादी प्रदर्शनका क्रममा आइतबार दिउँसो काठमाडौंको नारायणचौरबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले साँझ रिहा गरेको हो ।
थापा र सिंहसहित अन्य पाँच जनालाई पनि रिहा गरिएको छ । पक्राउ परेकामध्ये एक जनालाई भने हिरासतमै राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनको व्यक्तिगत व्यवहारका कारण हिरासतमै राखिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका थापालाई भेट्न जिल्ला प्रहरी परिसर पुगेका सिंहलाई पनि त्यहीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यसैबीच नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोदन समिति र राप्रपाले पनि राप्रपा अध्यक्ष थापालगायतलाई पक्राउ गरेको विरोधमा थप आन्दोलन गर्ने भएका थिए । समितिले त सोमबारलाई काठमाडौं उपत्यका बन्दको समेत घोषणा गरिसकेको थियो ।