
नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि श्रृंखलावद्ध रूपमा सांघातिक आक्रमण भइरहेको भन्दै नेपाली कांग्रेसका जिल्ला र क्षेत्रीय कार्यालयहरूले स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन् ।
स्थानीय प्रशासनले दोषीलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी नेपाली कांग्रेस सर्लाहीले दिएको छ । पछिल्ला दुई घटनाले जिल्लामा शान्ति सुरक्षाको अवस्था कमजोर बनेको कांग्रेसको आरोप छ । गत जेठ ७ गते रामनगर गाउँपालिकाका लागि गत स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुख पदका प्रत्यासी हरिनन्दन प्रसाद यादवमाथि हुलाकी सडकको गोडैतामा आक्रमण भएको थियो ।
मलंगवाबाट घर फर्किने क्रममा दिउँसो करिब ४–५ बजे भारतीय नम्बर प्लेटका तीनवटा गाडीमा आएका १५–१६ जनाको समूहले यादव चढेको गाडीलाई रोकी तोडफोड तथा कुटपिटको प्रयास गरे । ज्यान जोगाउन गाडी नरोकी भाग्न खोज्दा करिब २÷३ किलोमिटरसम्म लखेटी वगदह चिनी मिल नजिक गाडी रोकेर तोडफोड र कुटपिट गरिएको थियो ।
आपराधिकहरूले गाडी सडकमै पल्टाएर भागेको र उनीहरूको पहिचान भइसक्दा पनि स्थानीय प्रशासन मौन बसेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ । त्यसको दुई दिनपछि जेठ ९ गते, संघीय गृहमन्त्री रमेश लेखक जनकपुर आउनु भएको कार्यक्रममा सहभागी भई फर्किंदै गरेका नेपाली कांग्रेसका प्रदेश उपसभापति तथा प्रदेश संसदीय दलका उप–नेता बीरेन्द्र प्रसाद सिंहमाथि पनि ज्यान मार्ने उद्देश्यले आक्रमणको प्रयास भएको थियो ।
हुलाकी सडक खण्डको ब्रह्मपुरी गाउँपालिकाको मेल्ही नजिक पुल निर्माण भइरहेको स्थानमा राति करिब १०ः३० बजे भारतीय नम्बर प्लेटका दुईवटा नेक्सन गाडी (बीआर ३० एजे ६८८१ र बीआर ०६ टीसी ०२२१) लिएर बसेका अपराधीहरूले सिंह चढ्ने गाडी भन्ठानेर तत्कालीन मधेश प्रदेश सरकारका पूर्वअर्थमन्त्री सञ्जय कुमार यादवको गाडीमाथि आक्रमण गर्न खोजेको आरोप लगाइएको थियो ।
पूर्वअर्थमन्त्रीको अंगरक्षक (प्रहरी) ले प्रतिवाद गर्दा र बीरेन्द्र प्रसाद सिंह त्यस गाडीमा नभएको थाहा पाएपछि अपराधीहरूले ‘हामीले बीरेन्द्र प्रसाद सिंहलाई खोजेको हो’ भन्दै उक्त गाडी छोडेको विज्ञप्तिमा उल्लेख छ । पूर्व अर्थमन्त्रीको अंगरक्षकले घटनामा प्रयोग भएका गाडी नम्बरसहितको भिडियो क्लिप र जानकारी तत्काल जिल्ला प्रहरी कार्यालय, मलंगवा, सर्लाहीलाई गराएका थिए।
यस घटनापछि बीरेन्द्र प्रसाद सिंहले आफ्नो ज्यानको रक्षा, शान्ति सुरक्षा र अपराधीहरूलाई कानुन बमोजिम कारबाही गर्नका लागि पटक– पटक मौखिक तथा लिखित रूपमा स्थानीय प्रशासनलाई जानकारी गराए पनि हालसम्म कुनै कारबाही नभएको कांग्रेस सर्लाहीले जनाएको छ । अपराधीहरू खुल्लमखुल्ला घुमिरहेका कारण आम जनता त्रसित बनेको र शान्ति सुरक्षाको अनुभूति गर्न नपाएको कांग्रेसको ठहर गरेको छ ।
कांग्रेस सर्लाही जिल्ला कार्यालयका सचिव निरज कार्की र क्षेत्र नं. ४ क्षेत्रीय कार्यालयका सभापति राम आश्रय साहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस्ता घटनाको घोर भत्र्सना गरेका छन् । उनीहरूले तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याई आम जनतालाई त्रासमुक्त बनाउन, शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गरेका छन् ।
कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ताहरूमाथि भइरहेको सांघातिक आक्रमण असह्य हुने भन्दै तत्काल स्थानीय प्रशासनले अपराधीहरूलाई कारबाही नगरे नेपाली कांग्रेस सर्लाहीले शान्ति सुरक्षा कायम गराउन र न्याय स्थापित गराउनका लागि कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरू तय गरी अगाडि बढ्ने र त्यसको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिए ।