सुजाता राई
विराटनगर ।कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरगत कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता विराटनगरको सहिद रंगशालामा सुरु भयो।
कार्यक्रमको उद्घाटन सभामुख अम्बर बहादुर विष्टले सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खेलकुद सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भएकोछ।
प्रदेशका ११ जिल्लाबाट करिब १,००० खेलाडी सहभागी भएका प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु तथा एथलेटिक्स खेल समावेश छन्।

उद्घाटन समारोहमा प्रमुख अतिथि विष्टले शिक्षा र खेलकुद राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुदलाई प्राथमिकता दिन आग्रह गरे।
मन्त्री राईले छोटो सूचनाका बाबजुद प्रतियोगिता सफलतापूर्वक आयोजना भएकोमा सरोकारवालाप्रति आभार व्यक्त गर्दै खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए।
सदस्य सचिव बस्नेतले सहभागी खेलाडीहरूलाई शुभकामना दिंदै विजयी खेलाडीलाई उचित सम्मान गरिने र खेलाडीको सम्मानजनक जीवनका लागि बोर्ड क्रियाशील रहेको जानकारी गराए ।

प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरूले जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको तर्फबाट सहभागिता जनाउनेछन्।




