
काठमाडौं - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।
आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रहरुबारे जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
जेठ १३ गतेदेखि बैठक बोलाइए पनि विपक्षी दलको अवरोधका कारण बस्न सकेको छैन । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न दिए पनि २९ गतेबाट बोलाइएका कुनै पनि बैठक कार्यसूचीमा प्रवेश गर्न सकेका छैनन् । सहमतिका लागि दलहरुबीच पटकपटक छलफल भए पनि निष्कर्ष निस्कन सकेको छैन । आजको बैठक कार्यसूचीमा प्रवेश गर्छ कि गर्दैन भन्ने निश्चित छैन ।
बैैठक अवरुद्ध हुँदा बजेटमाथि छलफल शुुरु हुन सकेको छैन । बिहीबार रास्वपाबाहेकका विपक्षी दलसँग दुईबुँदे सहमति भएको छ । यसमा रास्वपाले भने समय मागेको छ । रास्वपा पनि सहमत भयो भने बैठक सुचारु हुने सम्भावना रहेको छ ।