धनुषा । ५ महिना देखि वेपत्ता धनुषाको एक युवककाे बुधबार बिहान शव फेला परेको छ ।
फेला परेको शव धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौसयविघा बस्ने श्रीकान्त यादवको अन्दाजी बर्ष २८ को छोरा अन्देश यादवको रहेको परिवारजनले पुष्टि गरेको छ ।
बुधबार बिहान धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरनदाहास्थित गाडेको अवस्थामा यादवको लास भेटिएको हो । त्यतिबेला सनाखत नभएपनि प्रहरीले उनका परिवारजनलाई ल्याएर सोधपुछ गर्दा उनको पछाडीको कपालको स्टाईल , घडी र पहिरनले सनाखत भएको हो ।
धनुषाधाम नगरपालिका वडा नं. ५ का यादव विगत ५ महिनादेखि नै गाउँबाट फरार थिए । धनुषाधाम नगरपालिका वडा नं. २ काशिपुरस्थित एक महिलासँगको सम्बन्धका कारण उनी पक्राउ परी सोही प्रकरणमा गाउँ छाडेर भागेका थिए ।
उनलाई हत्या गरी फालिएको अवस्थामा फेला परेको हो । गत असोज २८ गते मात्रै यादव आफ्नो गाउँ आएको उनका परिवारजनले जनाएका छन् । २८ गते गाउँ आएका यादव पुनः भागेका थिए ।
उनका परिवारजनका अनुसार, सो महिला प्रकरणमा अन्य ४ जनामाथि मुद्दा लगाएकोमा अमदेशलाई मारेर फालेको हुन सक्ने अनुमान गरिएको छ । महिलासँगको काण्ड मै उनलाई हत्या गरी फालेको हुन सक्ने अनुमान गरिएको छ ।
यद्यपी, प्रहरीले यसबारे कुनै अधिकारिक जानकारी दिएको छैनन् । प्रहरीका अनुसार, अहिले अनुसन्धानकै क्रममा रहेकोले अनुसन्धानपछि मात्र थप कुराहरु भन्न मिल्ने जनाएको छ ।
बुधबार बिहान मिथिला बिहारी नगरपालिका वडा नं. २ पुरनदाहास्थित रहेको समुदायिक विद्यालयको पूर्व दक्षिण कुना र पर्शुराम तलाउदेखि पश्चिम दक्षिण कुनामा मान्छेको आवागमन नहुने स्थानमा उनलाई गाडेको पाईएको हो ।
कुकुर कागहरु हलचल गरेपछि स्थानीयहरुले हेर्न जाँदा त्यहाँ मानिसको लास देखेपछि प्रहरीलाई खवर गरेको थियो ।