
पर्सा - वीरगञ्ज भन्सार कार्यालयको भन्सार चेक पोइन्ट नजिकबाट स्रोत नखुलेको १३ लाख नगदसहित एक जना पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ एटी ०४७५ नम्बरको भारतीय मोटरसाइकलमा सवार वीरगन्ज महानगरपालिका-२ छप्कैयाका १९ वर्षीय राहुलकुमार तिवारीलाई सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका-१६ स्थित भन्सार चेक पोइन्टबाट पक्राउ गरेको हो । उनले उक्त रकम मोटरसाइकलको एअर फिल्टर बक्समा लुकाइछिपाई ल्याएका थिए ।
तिवारीबाट बरामद रकम चोरीपैठारी गरी ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ । तिवारीलाई मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
शुक्रबार नै सोही गुल्मबाट खटिएको अर्को टोलीले वीरगन्ज-१६ स्थित भन्सार गेट नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको ना ४७ प ९७१० नम्बरको मोटरसाइकलमा सवार बारा प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीय कौशलकुमार गुप्तालाई ५ लाख नगदसहित पक्राउ गरेको छ । उनले पनि शरीरका विभिन्न भागमा लुकाइछिपाई अवैध रुपमा रकम ल्याएका थिए ।
गुप्तालाई पनि नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।