बबरगन्ज - सर्लाहीको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा छतिवनको रुखबाट पानी निस्किएर ‘देवता’ उत्पन्न भएको भन्दै स्थानीयले पूजाअर्चना गर्न थालेका छन् ।
दुई साता अघिदेखि छतिवनको रुख र त्यसको हाँगाबाट सिमसिम पानी झरेर ओसिलो हुन थालेपछि हेर्नेको भीड लागेको हो । बस्ती नजिकैको बङ्गैँचामा रहेको उक्त छतिवनको रुख हेर्न टाढाटाढाका मानिस आइरहेका स्थानीयले बताएका छन् ।

ओसिलो देखिएको रुख र स्थानीयले गरेको पूजाआजा ।
स्थानीय शीला यादवले छतिवनको यो रुखबाट पहिलो पटक यसरी २४ सैँ घण्टा सिमसिम पानी परेको जस्तै देखिएको बताईन् । कतिपय सर्वसाधारणले ‘देवता’ उत्पन्न भएको भन्दै लड्डु, फूल र अगरबत्ती चढाएर रुखको फेदमा पूजा गर्ने गरेका छन् ।

छतिवनको रुख ।
बबरगन्जकै स्थानीय वासिन्दा तथा चन्द्रनगर स्वास्थ्य चौकीका सिनियर अहेब शिवशङ्कर महतोले रुख र रुखको फेदमा पानी परेको जस्तै गरी ओसिलो बनेपछि आश्चर्य मानेर हेर्ने मानिसको भीड लागेको जानकारी दिए । सामाजिक सञ्जालमा भाइरल भएपछि सदरमुकाम मलङ्गवासहित टाढाटाढाका मानिस रुख हेर्न आएका बताए । उनले रुखबाटै पानी निस्किएको जस्तो देखिएपछि एउटा हाँगा काटेर हेर्दा पानी नआएको बताए ।

रुख माथि बसेर मरेर झरेको मौरी जस्तै देखिने किरा ।
महतोका अनुसार केही दिनदेखि रुखका हाँगामा मौरी जस्तै किरा देखिएका छन् । त्यही किराले पानी फालेको हुन सक्ने स्थानीयको आशङ्का रहेको छ ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले रुखमाथि किरा आएर बसेकाले ति किराले नै पानी फालेको हुनसक्ने भएकाले यसलाई सामान्य ढङ्गले नै लिइएको उज्यालो अभियानसँग बताए ।




