
महोत्तरी - पछिल्ला केही सातादेखि अत्यधिक तापक्रमका कारण अत्यासिएका महोत्तरीबासीलाई बुधबार साँझ परेको वर्षाले ठूलो राहत दिएको छ। विशेषगरी औरही नगर क्षेत्रमा लामो समयदेखि परेको खडेरी र प्रचण्ड गर्मीपछि एक्कासि पानी पर्न थालेपछि सर्वसाधारणमा सहजता महसुस गरिएको छ।
गत केही दिनयता बर्दिवास क्षेत्रमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगिरहेको थियो। अत्यधिक गर्मीका कारण विद्यालयहरूका पठनपाठनमा असर पुगेको थियो भने वृद्धवृद्धा र बालबालिकालाई स्वास्थ्य समस्या देखिन थालेका थिए। यस्तो अवस्थामा बुधबार साँझबाट सुरु भएको झरीले मौसम शितल बनाउँदै स्थानीयवासीलाई राहत मिलेको छ।स्थानीयवासी घनश्यम यादव भन्छन्, “गर्मीका कारण पसिनाले काम गर्नै गाह्रो भएको थियो। आज वर्षा भएपछि एक प्रकारको सास फेर्ने वातावरण मिलेको छ।“बर्षासँगै सडकका केही स्थानमा फोहोर बगाएको, केही ठाउँमा हिलो बनेको देखिए पनि सर्वसाधारणले प्राकृतिक रूपमा स्वागत गरेका छन्।
कृषकहरू पनि समयमै वर्षा सुरु भएकाले धानको बिउ राख्ने तयारीमा जुट्न थालेका छन्।औरही नगरपालिका २ औरहीका स्थानीय किसान दिनेश यादव भन्छन्, “यो पानीले खेतमा पानी संचित गर्न सहयोग पुग्नेछ। अब धानको रोपाइँ सुरु गर्ने योजना बनाएका छौं।“जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी केही दिन औरहीसहित तराईका अन्य क्षेत्रमा आंशिक बदलीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसले केही समयका लागि भए पनि गर्मीको असर कम गर्ने विश्वास गरिएको छ।