मधेश प्रदेशका निलम्बित सांसद अभिराम शर्माको पेशी पटक पटक स्थगित हुँदै सर्दै आएको छ । महोत्तरी जिल्ला अदालतमा बुधबार न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र खेम राज भट्टको संयुक्त इजलाशमा चढेको उक्त मुद्दाको २४ औं पेशी समेत हेर्न नभ्याइनेमा परेको छ ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका निलम्बित सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाकाका पूर्व मेयर रामशंकर मिश्र, सुरेश पाण्डे र धमेन्द्र रायको मुद्दामा पटक पटक गरी हालसम्म २४ वटा पेशी चढेकोमा अधिकांश पेशी स्थगित र हेर्न नभ्याइनेमा परेको छ ।
२०८१ वैशाख ९ गते शर्माको हकमा उनका बुवा महेन्द्र शर्मा, मिश्रको हकमा उनका श्रीमती संगीता कुमारी शर्माले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए ।
यस्तै बैशाख १० गते पाण्डेको हकमा उनका छोरी प्रियंका पाण्डे र रायको हकमा उनका दाइ अ र िव न् द कुमार रायले पुनरावेदनमा मुद्दा दर्ता गराएका थिए । मुद्दा दायर भएपछि जेठ ९ गतेको पेशीमा न्याययाधीश बलभद्र बास्तोला र नरबहादुर खड्काको संयुक्त इजलासले सबै मुद्दालाई साथै बढाउने आदेश गरेको थियो । त्यसयता तोकिएको पेशी पटक पटक स्थगित र हेर्न नभ्याइनेमा पर्दै आएको छ ।
सो मुद्दामा २४ पटक पेशी चढेकोमा १२ पटक स्थगित, ५ पटक हेर्न नभ्याइनेमा, ६ पटक आदेश र एक पटक पेशीको क्रममा बकपत्र भएको थियो । दोस्रो मधेश आन्दोलनको क्रममा २०७२ भदौँ २५ गते महोत्तरीमा सशस्त्र प्रहरीका असई थमन विकको एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो । सो प्रकरणमा २०७२ फागुन २७ गते जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्य ज्यान र २५ जनाविरुद्ध आगजनीको मुद्दा दर्ता भएको थियो ।





