महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका–८ मा रहेको परिकौली विद्यालयको कम्पाउण्डमा भइरहेको ढलान कार्यप्रति विद्यार्थी जनमत संघले गम्भीर आपत्ति जनाएको छ। संघले उक्त कार्यले विद्यालयको शैक्षिक तथा बालमैत्री वातावरणमा प्रत्यक्ष असर पार्ने भन्दै तत्काल रोक्न माग गरेको छ।
विद्यार्थी जनमत संघले आइतबार जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापनपत्र बुझाउँदै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो। संघका जिल्ला अध्यक्ष सुमन चौधरीको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा विद्यालय कुनै निर्माण कम्पनीको परियोजना स्थल नभइ ‘भविष्य निर्माण हुने पवित्र थलो’ भएको उल्लेख छ।

“विकासको विरोध हाम्रो उद्देश्य होइन, तर अव्यवस्थित र असुरक्षित कामको विरुद्ध विद्यार्थी जनमत संघ सधैं बोल्नेछ,” ज्ञापनपत्रमा भनिएको छ, “ढलान कार्यले न बालमैत्री वातावरण जोगिएको छ, न त विद्यार्थीको खेलकुद तथा मानसिक विकासको ख्याल गरिएको छ।”

संघले तीन बुँदे माग राख्दै विद्यालय परिसरमा भइरहेको निर्माण कार्य तुरुन्त रोक्न, सम्बन्धित निकायलाई निर्देशन दिन र यस्ता गतिविधि दोहोरिन नदिन स्थायी कार्यविधि बनाइनुपर्नेमा जोड दिएको छ। संघले यदि तत्काल कदम नचालिए कानुनी, सामाजिक र लोकतान्त्रिक दबाबमार्फत संघर्षमा उत्रन बाध्य हुने चेतावनीसमेत दिएको छ।
“हामी अझै पनि शान्तिपूर्ण संवादमा विश्वास गर्छौं,” ज्ञापनपत्रमा उल्लेख छ, “तर विद्यार्थीको जीवनसँग सम्झौता गर्न सकिँदैन।”
विद्यालय परिसरमा भौतिक पूर्वाधार विस्तारको नाममा भइरहेको ढलान कार्यबारे अहिलेसम्म विद्यालय प्रशासन र स्थानीय तहले कुनै स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। यस्तो अवस्थामा विद्यार्थी संगठनको औपचारिक विरोध आउनुले कार्यको औचित्यमाथि प्रश्न उठाएको छ।




