
जनकपुरधाम - धनुषाधाम नगरपालिका–३ का वडाध्यक्ष जयनारायण यादवले टिभी टुडेकी पत्रकार चान्दनी झामाथि अभद्र व्यवहार गरेका छन् । स्थानीयले वडाध्यक्ष यादव आफ्नो जग्गा जोगाउन १८ फिटको सार्वजनिक सडकलाई साँघुरो बनाउँदै १० फिटमा सीमित गर्न खोजिएको गुनासो गरेका थिए । सोही विषयमा समाचार संकलनका लागि पत्रकार झा शनिबार बिहान क्यामेराम्यानसहित घटनास्थलमा पुगेकी थिइन् ।
रिपोर्टिङको क्रममा वडाध्यक्षका समर्थकहरुले पत्रकार झालाई “पहिले वडाध्यक्षसँग कुरा गरेर मात्र खिच्न पाइन्छ” भन्दै रोकेका थिए । ती व्यक्तिले पहिले वडाध्यक्षसँग कुरा गरे मात्र भिडियो खिच्न भनेका थिए । पत्रकार झाले नै ती व्यक्तिलाई वडाध्यक्ष यादवलाई फोन गर्न आग्रह गरेकी थिइन् ।
ती व्यक्तिले आफ्नै फोनबाट वडाध्यक्षलाई फोन लगाएर लाउडिस्पिकरमा कुरा गर्दा वडाध्यक्षले पहिले पत्रकारलाई दुई थप्पड हान द्दभन्ने ,निर्देशन दिएका थिए । उक्त अभिव्यक्ति पत्रकार झा र उपस्थित स्थानीयले प्रत्यक्ष सुनेका थिए । त्यसको प्रमाण सुरक्षित गरिएको छ ।
घटनापछि पत्रकार झाले वडाध्यक्षको अराजक र धम्कीपूर्ण व्यवहारको विरोध गर्दै उनलाई कानुनी कारबाही गर्न माग गरेकी छन् । उनले आजै जिल्ला प्रहरी कार्यालय धनुषामा वडाध्यक्ष यादवविरुद्ध उजुरी दर्ता गर्ने तयारी गरेकी हुन् ।
यस घटनालाई गम्भीर रूपमा लिँदै नेपाल पत्रकार महासंघ धनुषा शाखाकाको टोलि पनि वडाध्यक्षविरुद्ध आवश्यक कारबाहीको माग गर्दै प्रहरी कार्यालयमा डेलिगेशन लिएर जाने तयारी गरेको छ ।