
महोत्तरी - जुन २६ तारिखलाई विश्वभर लागू औषध दुरुपयोग तथा अबैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा मनाइने अवसरमा महोत्तरीको जलेश्वरमा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ । “स्वस्थ, सभ्य र सुरक्षित समाजको प्रतिवद्धता : लागू औषध दुरुपयोग विरुद्ध ऐक्यबद्धता” भन्ने नाराका साथ आयोजित उक्त प्रभातफेरी कार्यक्रममा विभिन्न सरकारी, गैरसरकारी संस्था, युवा तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले लागू औषधको दुरुपयोगले व्यक्ति, परिवार र समाजमा पर्ने नकारात्मक असरबारे जनमानसमा चेतना फैलाउने उद्देश्यले विभिन्न प्लेकार्ड तथा ब्यानरसहित ¥याली निकालेका थिए। जलेश्वर बजार क्षेत्र हुँदै भएको ¥यालीमा सहभागीहरूले “नशा होइन, शिक्षा रोजौं”, “लागू औषधमुक्त समाज निर्माण गरौं” लगायत नाराहरू बोलेका थिए ।
जिल्ला प्रशासन कार्यालय महोत्तरी तथा जिल्ला पप्रहरी कार्यालय महाेत्तरीको संयुक्त आयोजनामा तथा कमल उद्यम फाउण्डेशन तथा सुधार केन्द्रको सहकार्यमा सम्पन्न कार्यक्रमले लागू औषधको प्रयोग, त्यसको अबैध कारोबार र यसको असरबारे सर्वसाधारणमा चेतना फैलाउने प्रयास गरेको हो ।
संयुक्त राष्ट्रसंघले सन् १९८७ को घोषणापत्रको आधारमा हरेक वर्ष जुन २६ तारिखमा यो दिवस मनाउने निर्णय गरेको हो । दिवसको मुख्य उद्देश्य लागू औषधको असर र कारोबारबाट विश्व समुदायलाई मुक्त बनाउनु हो ।
लागू औषध प्रयोगकर्तामध्ये अधिकांश युवा
विश्वभर लागू औषध प्रयोगकर्ता र कारोबारीमध्ये धेरैजसो युवा नै छन् । यसले युवाहरूलाई शारीरिक, मानसिक, आर्थिक र सामाजिक रूपमा क्षति पुर्याउने विज्ञहरूले बताउँदै आएका छन्। मनोविज्ञहरूको अनुसार कम समयमा धेरै पैसा कमाउने चाहना, साथीसंगीको प्रभाव, र नशाको लतले युवाहरू लागू औषधको दुश्चक्रमा फस्ने गरेका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार लागू औषधको असमझदारीपूर्ण प्रयोगले हरेक वर्ष विश्वमा करिब १ लाख ९० हजार मानिसको ज्यान जाने गरेको छ ।
समाजलाई सुरक्षित, स्वस्थ र समृद्ध बनाउने लक्ष्य हासिल गर्न लागू औषध दुरुपयोग विरुद्धको अभियानमा सबैले आ–आफ्नो स्थानबाट योगदान पुर्याउन जरुरी छ। स्थानीय तहदेखि केन्द्रसम्म सशक्त कार्यक्रम, शिक्षा र पुनर्स्थापनामूलक पहल आवश्यक देखिन्छ ।

























