राकेशप्रसाद चौधरी,महोत्तरी – बडादशैं शुरू भएसँगै तराई,मधेशको विभिन्न ठाउँमा परम्परागत झिझिया नृत्य तथा झिझिया प्रतियोगिताहरूको आयोजना हुनेगर्छ । झिझियालाई लोकनृत्यको श्रेणीमा राखिएको छ । लोक भनेको साधारण जनसमाज बुझिन्छ । त्यस समाजभित्र मनाइने नृत्यलाई लोकनृत्य भनिन्छ । बडादशैंको अवसरमा मिथिलाक्षेत्रको विभिन्न भगवती, देवी मन्दिर एवम् थान(स्थान) तथा माटोका प्रतिमाबाट बनाइएका दुर्गा भवानीलगायतका देवीदेवताको पूजापाठ गरेर दुर्गापुजा, बडादशैं मनाउने गरिन्छ । यस क्षेत्रमा झिझिया नृत्य र दुर्गापुजा आपसमा सम्बन्धित जस्तो देखिन्छ ।
अहिले प्रविधिको प्रयोग र ज्ञानले अगाडि बढ्न थालेको समाजमा लोकनृत्यभन्दा पनि झिझियालाई आधुनिक गीतमा हुने नृत्य बुझ्न थालिएको छ । पण्डालभित्र माटोको प्रतिमा बनाएर गरिने दुर्गापजाको इतिहास मिथिलाञ्चल क्षेत्रमा सयबर्षभन्दा कम छ । माटोको प्रतिमा बनाएर पुजा हुनुभन्दा अगाडिदेखि प्रचलनमा रहेको झिझिया लोकनृत्यको शुरूवात लोकदेवीको थान(स्थान) अथवा गहबरबाट हुन्छ । त्यहाँबाट शुरू हुने यो लोकनृत्य धार्मिक ग्रन्थहरूमा उल्लेख देवीदेवताका मन्दिर तथा लोक देवीदेवता थानमा झिझिया नृत्य गरिन्छ। एक महिलाले आफ्नो टाउँकोमा असङ्ख्य प्वाल भएको एकदेखि २१ वटासम्मको घैलाले बनाइएका झिझिया राखेर नृत्य गर्छिन् । बालिकाहरूले एउटा अथवा पाँचवटासम्म घैँटोले झिझिया बनाउने गर्छिन् । समूहमा रहेकी महिलाहरूमध्ये एउटाले झिझिया राखेर नाँच्ने तथा अन्यले लोकगीत गाउँछिन् । झिझिया नृत्यमा लोकगीत र लोकबाजाको पनि महत्वपूर्ण भूमिका हुन्छ ।



यो नृत्यमा लोकपात्र र लोककथा समेटिएको भए यो मधेशको लोकनाचको श्रेणीमा पर्ने निश्चित थियो । झिझिया बनाउने र खेल्ने(नृत्य) विधि रहेकोले यो लोकसंस्कृतिसँग जोडिएको छ । बडादशैं अर्थात मिथिलाञ्चलको दुर्गा पुजा शुरू भएलगत्तै झिझियामाथि बिभिन्न बहस पनि शुरू हने गर्छ र बडादशैं सकिएपनि स्वतः बहसहरू बिना निष्कर्ष अर्कोबर्षका लागि बाँकि रह्नेगरि सकिन्छ। डा.रामदयाल राकेशले मैथिली संस्कृति पुस्तकमा नौलाख ताराको प्रकाश समेटिएको झिझिया लोकजीवनमा व्यापत अन्धकारलाई दर गरेर आलोक फिजाउने प्रयास रहेको उल्लेख गर्दै भारतको गुजराती गरबा लोकनाचसँग मिल्दोजुल्दो रहेको चर्चा गरेका छन् । झिझिया लोकनृत्य कहिलेबाट शुरू भएकोबारे अझैसम्म बैज्ञानिक अध्ययन भएको छैन। मिथिलाञ्चल समाज जादुटोनाको युगबाट गुज्रिरहेको तथा लोकदेवीको पुजापाठ हुने समयबाट यो लोकनृत्य शुरूवात मान्न सकिन्छ ।
झिझिया नृत्यका लागि गाइने लोकगीतमा जादुटोना तथा बोक्सी सिक्ने र अभ्यास गर्नेहरूलाई गाली गर्ने गरिन्छ । अर्कोतर्फ लोकदेवीदेवताको स्तुती गरिन्छ । लोकगीतहरूको अध्ययनबाट यसको शुरूवात यस क्षेत्रको मानवबस्ती बिकाससँग जोड्नि पुग्छ । झिझिया तयार गर्न कुनै कर्मकाण्ड पण्डितहरूको आवश्यकता देखिएको छैन। यसका लागि झिझिया बनाउने समूहहरूले आफ्नो क्षेत्रभित्रको लोकदेवीलाई सेवा गर्ने सेवक अथवा धामीको सहयोग लिने गर्छिन् । झिझिया बनाउन सबैभन्दा पहिले कुम्हार(पण्डीत)लाई घैलाको लागि सगुन दिइन्छ। त्यसपछि बाँसकट्टी अर्थात बाँस काँटेर ल्याइन्छ । बाँस काट्न जाने बेलामा लोकदेवीदेवतासँगै भगवतीको स्तुती लोकगीतमार्फत गरिन्छ । घैलाभित्र असङ्य प्वाल बनाउन सक्ने अनुभवी ब्यक्तिलाई जिम्मा दिइन्छ ।
झिझियाका लागि ल्याएको घैला प्वाल बनाउँदा फुटेमा अनिष्ट हुने मान्यता नृत्य गर्नेहरूमा छ । झिझिया बाँध्ने बेलामा धामीको रोहबर आवश्यक हुन्छ । पहिला पहिलो झिझियामा २१ वटासम्म घैला प्रयोग गरिएपनि अहिले बढीमा ११ वटासम्म हेर्न सकिन्छ । प्रतियोगिता र बालिकाहरूले मनोरञ्जनका लागि बनाउने झिझिया यी लोक परम्पराको पालना भएको देखिँदैन । देवीदेवताको थानहरू तथा प्रतिमा अगाडि झिझिया नृत्य सकेपछि यी समूहहरू स्थानीयको घरसम्म पुग्ने गर्छिन् ।
पहिला पहिला झिझियामा दियो जलाउन मट्टितेल माग्ने चलन थियो किनभने अधिकांशको घरमा मट्टितेलकै टुकी बालेर रात्रीकालिन समय काट्ने गरिन्थ्यो । घरबाहिर प्रायः बाहिर ननिस्कने छोरी, बुहारीको लागि झिझिया नृत्यले एक किसिमको उर्जा नै प्रदान गर्दथ्यो । अहिले पनि केही ठाउँहरूमा झिझिया नृत्य गर्नेहरू स्थानीयको घर आँगनसम्म पुग्ने गर्छिन् । भगवतीको आराधना तथा झिझिया नृत्यबापत बक्सिस लिने गर्छिन् । घरमा मट्टितेलको ठाउँ बिजुलीले लिएपछि झिझिया नृत्य गर्ने समूहले बक्सिसको रूपमा नगद नै लिएर जाने गर्छिन् । झिझियाको परम्परागत लोकनृत्य गर्ने समूहहरूलाई केही ठाउँमा वडा तथा पालिकास्तरबाट बस्त्र तथा नगद प्रदान गर्ने गरेको समेत देखिन्छ । तथापि दीर्घकालिन प्रवद्र्धनात्मक कार्यक्रमरू भएको देखिँदैन् ।
झिझिया नृत्य गर्दा जादुटोना गर्नेले घैलाको प्वाल गन्न सफल भए नृत्याङ्गनाको मृत्यु हुने जनविश्वास छ । त्यसकै लागि नृत्य गर्दा गर्दै एकअर्कालाई झिझिया हस्तान्तरण गर्ने गरिन्छ । मिथिलाञ्चल ब्याप्त तात्कालिन जादुटोना युग र समाजबाट सर्वसाधारणलाई सचेत गराउन शुुरूवात भएको झिझिया लोकनृत्यबारे समाजशास्त्रीय तथा बैज्ञानिक बहस गर्न प्रदेश र स्थानीय सरकार चुकेको देखिन्छ । जादुटोनाको युगमा नरबली हुने गरेको किम्बदन्ती छ। त्यस युगमा आफ्नो समूदायलाई मात्र नभई नवरात्री अर्थात् दुर्गापुजाको नौदिन रातभरि गाउँलेलाई भक्तिमय तुल्याउने र जाग्राम बस्न बाध्य पार्ने झिझिया लोकनृत्यको योगदान थियो ।




