राजेश सिंह,महोत्तरी - महोत्तरीको गौशाला नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम नगर स्तरीय टी–२० मेयर कप क्रिकेट प्रतियोगिता–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगिताले युवाको उत्साह,खेलकुदप्रतिको लगाव र नगरभित्र सहकार्यको भावना उजागर गरेको छ।
बुधवार सम्पन्न फाइनल खेलमा वडा नं. ६ फुलकाहाले उत्कृष्ट प्रदर्शन गर्दै १९ ओभरमा १७६ रन बनाउँदै प्रथम मेयर कपको उपाधि हात पार्न सफल भयो। वडा नं. २ निगौलले टस जितेर पहिले ब्याटिङ रोजेको थियो। तर, राजेश यादव र रञ्जित यादवको घातक बलिङका कारण टोली १९ ओभरमै अलआउट हुँदै १७३ रनमै सिमित भयो। यसैका आधारमा निगौल उपविजेतामा चित्त बुझाउन बाध्य भयो।
प्रतियोगिताको समापन समारोहमा नगर प्रमुख तथा आयोजक समितिका संरक्षक डा. दीपेन्द्र महतोले सहभागी सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक, स्वयंसेवक, सहयोगी तथा क्रिकेटप्रेमीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभयो। उहाँले विजेता, उपविजेता तथा उत्कृष्ट प्रदर्शन गर्ने अन्य टिमहरूलाई विशेष बधाई दिँदै भन्नुभयो:
“खेलकुद युवामा अनुशासन, नेतृत्व क्षमता, सहकार्यको भावना विकास गर्ने मात्र नभई नगरभित्र समृद्धि र एकताको सन्देश फैलाउने उत्कृष्ट माध्यम हो। यस्ता सकारात्मक तथा सिर्जनात्मक गतिविधिमा युवाको सक्रियता बढ्दा कुलत र विशेषगरी लागू औषध दुरुपयोगबाट उनीहरूलाई जोगाउन मद्दत पुग्दछ।”
त्यसै अवसरमा नगर प्रमुख महतोले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नगरपालिकाले उत्कृष्ट होनहार खेलाडीहरूको छनोट (सेलेक्शन) प्रक्रिया सुरु गर्ने घोषणा गर्नुभयो। छनोटमा परेका खेलाडीहरूलाई प्रति महिना रू. ३,०००/- प्रोत्साहन भत्ता प्रदान गरिने जानकारी दिँदै उहाँले खेलाडीहरूलाई निरन्तर अभ्यासमा लागिरहन प्रेरित गर्नुभयो।
प्रतियोगितामा विजेता र उपविजेता टिमलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।
विजेता टिम (वडा नं. ६) ले रु. ५०,०००,
उपविजेता टिम (वडा नं. २) ले रु. ३०,०००,
र तेस्रो स्थान प्राप्त (वडा नं. ३) टिमलाई रु. २०,००० नगद पुरस्कार प्रदान गरिएको हो।
समारोहमा पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य श्री भरत प्रसाद साह, नगर शिक्षा संयोजक श्री संजय सिंह, लेखा अधिकृत श्री मनोज महरा, वडा नं. ६ का वडा अध्यक्ष राम सोगार्थ यादव लगायत विभिन्न अतिथि, जनप्रतिनिधि, खेलप्रेमी तथा स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
प्रथम मेयर कप प्रतियोगिता २०७९ असार १ गतेदेखि सञ्चालन भएको थियो। प्रतियोगितामा वडा नं. १ देखि वडा नं. १२ सम्मका वडाहरूले सहभागीता जनाएका थिए।नगर प्रमुख महतोले समापनमा यस्ता प्रतियोगिता भविष्यमा अझ व्यापक रूपमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।




