
देशमा राजनीतिक अस्थिरता झाँगिदो छ । ३२ सिटको जगमा उभेको पुष्पकमल दहाल र उनको सरकार जति तरल छ त्यतीकै सिथिल छ देशको अर्थतन्त्र पनि । सुन काण्ड, भूटानी सरनार्थीकाण्ड चल्दै थियो की एनसेल काण्डको पुनराबृती भएको छ । फ्रस्टेड समाजमा हेट स्पिचको सहारामा समाजिक संजालमा वाइरल बनाउन खोजिएको ‘दुर्गे आन्दोलन’ लाई एनसेलको ‘ठगी काण्ड’ले विस्थापित गरिदिएको छ ।
कोप २८ मा दहाल दुबईमा रहेकोबेला ब्लास्ट भएको एनसेल काण्डले कस्ता रुपलेलान भन्नेतिर सबैको ध्यानाकृष्ट हुनथालेको छ। केहीदिन पहिला मलेसियन कम्पनी आजियटाले एनसेलको आफ्नो सेयर सतीशलाल आचार्यलाई बिक्री गरेको समाचार बाहिर आयो । उनले एनसेलको ८० प्रतिशत शेयर स्वामित्व भएको रेनोल्ड होल्डिङ्स नामक कम्पनी सतीशलालको कम्पनी स्पेक्ट्रलाइट यूके लिमिटेडलाई करिब ६ अर्ब नेपाली रुपैयाँमा बिक्री गरेको थियो । यसलाई लिएर संसद, सरकार र सार्वजनिक वृतमा ब्यापक चर्चा उठेको छ की अनुमतीपत्रको २५ वर्षे म्याद (सन-२०२९) गुज्रिएपछि कम्पनीको स्वामित्व नेपाल सरकारमा हस्तान्तरण हुने भन्ने व्यवस्थाको प्रतिकुल यो डिल गरिएको छ ।
मेरो मोबाइल देखि एनसेलसम्मको यात्रामा नेपाली उपभोक्ताको करमा तर खादै आएका एउटा ठुलो गिरोह नै रहेको छ भनी आम नेपाली जनताले बुझ्ने मौका पाइरहेको छ । अहिलेको एनसेल प्रकरणमा आम चासो बढेको भएतापनि यो आम जनताको मुद्दा हुनपाएको छैन् । संघिय संसदमा प्रतिनिधित्व गरिरहेका स्वतन्त्र साँसद देखि अमुक दललाई प्रतिनिधित्व गर्ने साँसद नेताहरु यस काण्डबारे आफ्ना धारणाहरु राखीरहेका छन् । बिडम्बना के छ भन्ने एनसेल प्रकरणमा राजनीतिक दलका ठूला नेता देखि कर्मचारीतन्त्रसम्मको संलग्नता हुनसक्ने दाबी गर्नेहरुको कमी छैन ।
सतिशलाल आचार्य नाम गरेको व्यक्ति नेपालमा टेलिकम बजारलाई आफ्नो गिरोह नै स्थापना गरेका छन् भनी नेपालका कैयन सांसदहरु खुलेआम बोली रहेकाछन् । नेपालका केही थान ठुला नेता र कर्मचारीलाई मतियार नबनाइकन सतिशलाल त के कसैले पनि यत्रो आँट गर्नसक्दैन ।
२०७३ सालमा एनसेलले बुझाउनुपर्ने पुँजीगत लाभ करको विषय सडकमा प्रदर्शनको मुद्दा बनेको बेला तत्कालिन प्रधानमन्त्री दहालले एनसेललाई साथ दिएको भनी समाचार हामी सबैले पढेकै हुनुपर्छ । त्यतिबेला पनि ६६ अर्ब रुपैयाँको लाभकर मिनहाको लागि दहालले प्रचण्ड मिहनेत गरेका थिए । अहिले उही दहाल ३२ सिटे दललाई प्रतिधित्व गर्दै देशका प्रधानमन्त्री हुन। दहालले एनसेलको शेयर खरिदबिक्री चलखेलबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेका छन् । अहिले गठन गरिएको अध्यन समितिको रचनाकार स्वेम सतिशलाल आफै त होइनन् भनी शंकागर्नेहरु पनि धेरैछन् । किनभने यो देशमा अध्यन र अनुशन्धानको नाममा गठित सरकारी समितिहरुको प्रभाव बिरलै हुनेगरेको बुझिन्छ । झन आफ्नै दलका बफादार कर्मचारीलाई अध्ययनको जिम्मा लगाएको दहालप्रति शंका उब्जनु स्वभाविक हो । यस सन्दर्भमा बरु अध्यन नै गर्ने हो भने प्रधानमन्त्री दहालले २०७७ पुस २१ गते खोज पत्रकारिता केन्द्र (खोप) नेपाल र बेलायतको खोज पत्रकारिता गर्ने संस्था ‘फाइनान्स अन्कभर्ड’ले तयार पारेको अनुसन्धानमुलक प्रतिवेदन पढ्दा हुन्थ्यो की ?
खर्बौ ‘करको तर’ मार्ने सतिशलालहरु कै कारण होला नेपालमा आम नेपालीले भ्वाईस, एसएमएस र डाटा सस्तो भएको महसुस समेत हुन दिइएको छैन् । बजारमा नयाँ प्रतिस्पर्धी छिर्न दिएको छैन् । बिदितै छ की आजको युगमा हरेक क्षेत्रमा ‘डिज्टलाइजेशन’ को प्रभाव छ । राज्य संचालन होस या आम जनताको निजी जीवन- फोन र इन्टरनेट बिना सहजताको कल्पना समेत गर्न सकिँदैन । तर टेलीकम व्यवसायको नाममा यस्तो आपराधिक कृत्य गर्ने आरोपित बिचोलियाहरु नाम र काम सतहमा आएको रम्रो भएको छ । दहाल सरकार यदि थोरै इमान्दार हुँदो हो भन्ने अहिले उनले टेलिकम बजारबाट बिचोलिया साफाया गर्ने महत्वपूणर् अवसर पाएको जस्तो छ ।

यसै सन्दर्भमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न रहेको भनी सोसल साइट एक्स (टुइटर) मा लेख्दै भनेका छन्, ‘नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको पटाक्षेप हुँदैछ । कौतुहलता बढाउने गरी उनी थप्छन्, हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो ! चौधरीका अनुसार, एनसेल काण्डमा तिनै पात्रहरु संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलीकमलाई यिनीहरु सबै मिलेर रोकेका हुन् । ब्यंगात्मक शैलीमा बिट मार्दै उनि भन्छन्, देशमा अहिले- त कुटेजस्तो गर म रोएजस्तो गर्छु नामक सिनेमा चलिरहेको छ ।’
सीजी निर्देशकको यो टुइटल कुनै सामान्य टिप्पणी होइन । नेपालको टेलिकम जगतमा लगानी गर्न खोजेको एक नेपाली प्रतिशपर्धीको हो । चौधरीले भने अनुसार यदी सीजी टेलिकम आउँदो हो भने नेपाली उपभोक्ताले “भ्वाईस र एसएमएस निःशुल्क, र डाटामा ५० प्रतिशत किफायती पाउने हो । सीजी टेलिकम आउला नआउला त्यो तपशिलको विषय हो । तर नेपालको टेलिकम बजारलाई यदी प्रतिशपर्धी बनाउन बिचौलियाको चंगुलबाट निकाल्न सक्नुपर्छ । अहिलेको डिजिटल युगसँग लय मिलाउन नसकेको नेपाल झन दरिद्र हुँदैजाने हो । ग्लोबल फोरमहरुमा ठुला भनाउँदा नेताहरु डिजिटल नेपालको भाषण मात्र गर्छन । तर त्यसको नाममा ‘डिजिटल डकैती’ पो गर्दा रहेछन् जस्तो भान हुन्छ ।
एनसेल काण्डलाई अध्यन अनुसन्धानको नाममा सरकारले गठन गरेको समितिले ढाकछोप नगरुन । एनसेलको विज्ञापनमा पलित मिडियाहरुले एनसेलमा लुकेको वित्तिय अपराधको सत्यतथ्य बाहिर ल्यान आवश्यक छ । सतिशलाल आचार्यहरुलाई संरक्षण गरेर समाजवाद उन्मुखताको यात्रा तय हुँदैन भनी वर्तमान सरकार देखि हामी सबैले आत्मशात गर्नुपर्छ ।