ढल्केबर-धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा दुई दिने आँप मेला महोत्सव आयोजना हुने भएको छ । चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा असार १४ र १५ गते “चित्रपुर आँप मेला महोत्सव – २०८२“ हुने जानकारी आयोजक समितिले दिएको छ ।
चित्रपुरका स्थानीय किसानले विभिन्न जातका आँप उत्पादन गर्दै आएका छन् । स्थानिय उत्पादनको प्रवद्र्धन तथा पर्यटन विकासका उद्देश्यले मेला आयोजना गरिएको हो । आयोजकले चित्रपुरलाई “आँप पर्यटन नाका”को रूपमा विकास गर्ने लक्ष्य लिएको बताइएको छ ।
मेला समितिका सदस्य फुलगेन मगहीका अनुसार यो दोस्रो पटक आँप मेला महोत्सव आयोजना गर्न लागिएको हो । मेलामा ४० भन्दा बढी जातका आँप तथा आँपबाट बनेका विभिन्न परिकार जुस, अचार लगायतको प्रदर्शनीमा राखिनेछ । मेला घुम्न आउने पर्यटकलाई निःशुल्क आँप खुवाउने, बगैंचामा घुमाउने, रुखबाट आँप छानेर टिप्ने अनुभव दिलाउने, र विद्यार्थालाई विभिन्न जातका आँप चिनाउने कार्यक्रम समेत समावेश गरिनेछ ।
मगहीले हाल चित्रपुर क्षेत्रमा तीन सय बिघाभन्दा बढी जमिनमा फैलिएको आँपको बगैंचामा उत्पादन हुँदै आएको र बटेश्वर गाउँपालिका पूर्वपश्चिम लोकमार्ग नजिकै भएकाले यो क्षेत्र पर्यटन प्रवद्र्धनको दृष्टिले आकर्षक गन्तव्य बन्न सक्ने बताए ।
उनका अनुसार मेलामा स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रभावकारी हुने विश्वास लिइएको छ । एक तथ्याङ्क अनुसार मधेश प्रदेशले देशको कुल आँप उत्पादनमा ७७.१ प्रतिशत योगदान दिँदै आएको छ ।




