सिरहा – सिरहा जिल्लाको अर्नमा गाउँपालिका–१ बुदियाचापमा एक युवक शंकास्पद अवस्थामा मृत फेला परेका छन्। स्थानीय रामसेवक महराका छोरा अजय महरा आइतबार बिहान आफ्नै घरको छेउमा रहेको खेतमा मृत भेटिएका हुन्।
स्थानीयवासीहरूका अनुसार अजय बिहानैदेखि घरमा देखिएका थिएनन्। खोजतलास गर्दै जाँदा केही समयपछि घर नजिकैको खेतमा उनको शव भेटिएको हो। घटनास्थल हेर्दा शवको अवस्था रहस्यमय देखिएको र मृत्युको कारण प्रस्ट नखुलेकोले स्थानीयले शंका व्यक्त गरिरहेका छन्।
घटनास्थलमा स्थानीय प्रहरी टोली पुगिसकेको छ र अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक रूपमा कुनै ठोस विवरण बाहिर आइसकेको छैन। घटनाबारे थप विवरण र पोस्टमार्टम रिपोर्टका आधारमा मात्रै वास्तविकता खुल्ने जनाइएको छ।
शव भेटिएको खबर फैलिएपछि गाउँमा त्रास र कौतुहलता फैलिएको छ। घटनास्थलको प्रकृति हेर्दा हत्या गरिएको हुन् सक्ने आशंका गरिएको छ। प्रहरीका अनुसार घटनालाई गम्भीर रूपमा लिइएको छ र सबै कोणबाट अनुसन्धान थालिएको छ।




