
सर्लाही - सर्लाहीको बरहथवा नगरपालिका–९, मुर्तिया(हरिपुर)स्थित मुक्तेश्वरनाथ सामुदायिक वनभित्र आइतबार पोखरी उत्खनन गर्ने क्रममा एक अद्भुत शिवलिङ्गको उत्पत्ति भएको छ । माछा पालनको उद्देश्यले निर्माणाधीन पोखरीको उत्खननको क्रममा उक्त शिवलिङ्ग देखा परेको हो ।
वनको उत्तरपट्टि करिब १.५ किलोमिटर भित्र उत्खनन भइरहेको स्थानमै शिवलिङ्ग फेला परेको जनाइएको छ । प्राकृतिक रूपमा जमिनबाट प्रकट भएको उक्त शिवलिङ्गलाई देखेर स्थानीयवासी, वन उपभोक्ता समूह र धार्मिक आस्थावानहरू चकित भएका छन् ।
तस्बिरमा प्रस्ट देखिने शिवलिङ्ग वास्तविक भएको स्थानीय स्रोतले जनाएका छन् । घटनापछि सो स्थानमा श्रद्धालुहरूको भीड बढ्दो क्रममा छ भने धार्मिक अनुष्ठान, पूजापाठ र भजनकीर्तन सुरु भइसकेको छ ।
स्थानीय बासिन्दा तथा धार्मिक व्यक्तित्वहरूले यसलाई एक दिव्य संकेत मानेका छन् । “यो स्थान भविष्यमा एक धार्मिक तीर्थस्थलको रूपमा विकास हुन सक्छ,” एक स्थानीय धर्मगुरुले प्रतिक्रिया दिए ।
श्री मुक्तेश्वरनाथ सामुदायिक वन उपभोक्ता समूहले शिवलिङ्गको संरक्षण तथा व्यवस्थापनका लागि विशेष योजना बनाइरहेको जानकारी दिइएको छ । धार्मिक पर्यटन प्रवद्र्धनको सम्भावना रहेको भन्दै स्थानीय तहले समेत यस विषयमा चासो देखाउन थालेको छ ।