काठमाडौं – सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय सहमतिको सहजकर्ता बन्ने निर्णय गर्यो ।
माओवादी केन्द्रको यो निर्णयले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर सरकारबाहिरै बसेको नेपाली कांग्रेसलाई राहत मिलेको छ भने सत्ता साझेदार दल नेकपा (एमाले) थप दबाबमा परेको छ ।



गत पुस २८ गते आफ्नै निवास धुम्बाराहीमा पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक राखेर कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिबारे राष्ट्रिय सहमति जुराएर अगाडि जाने निर्णय गराए । कांग्रेसको जुन निर्णयअनुरूप नै माओवादी केन्द्रले पनि निर्णय गर्यो, माओवादी केन्द्रको यो निर्णय आफूहरूको पक्षमा भएको कांग्रेस नेताहरूको बुझाइ छ ।
कांग्रेसका एक नेताले भने, ‘माओवादी केन्द्रको राष्ट्रिय सहमति खोज्ने निर्णय सकारात्मक छ ।’
थप कदमका लागि प्रधानमन्त्री प्रचण्डसँग संवाद गर्ने जिम्मा पनि सो बैठकले सभापति देउवालाई नै दिएको थियो । विश्वासको मत दिएकाले राष्ट्रपतिको निर्वाचनमा आफूलाई सघाउने विश्वास कांग्रेसकाे बुझाइ छ । ती नेताले थपे, ‘राष्ट्रपतिको निर्वाचनलाई हेरेर पनि हामीले पुस २६ गते मत हालेका थियौँ ।’
यता प्रधानमन्त्री प्रचण्डले पनि गत माघ ३ गते आफूलाई विश्वासको मत दिने दलहरूको बैठकमा कांग्रेससमेतको सहभागितामा राखेका थिए, त्यो बैठक कांग्रेसकै चाहनामा राखिएको बताइन्छ ।
सार्वजनिक अभिव्यक्ति दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका निम्ति आफू सहजकर्ता बन्ने बताउँदै आएका छन् । शुक्रबारमात्रै सकिएको माओवादी केन्द्रको स्थायी समिति बैठकले पनि राष्ट्रपतिका सन्दर्भमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।
यसले कांग्रेसभित्र थप आशा पलाएको छ । ती नेताले भनेका छन्, ‘माओवादी केन्द्रको निर्णयले थप आशा पलाएको छ । अब भावी कदम कस्तो हुन्छ, त्यो हेर्छौँ ।’
यता एमालेका लागि भने माओवादी केन्द्रको राष्ट्रिय सहमति खोज्ने निर्णय थप दबाब हो । प्रधानमन्त्री प्रचण्डले गत पुस २६ गते विश्वासको मत लिँदैगर्दा नै एमाले सशङ्कित देखिएको थियो ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेसको निर्णयपछि संसद्बाटै एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो ?’ भनेर प्रश्न गरेका थिए । त्यसको प्रतिवाद गरेपनि कांग्रेस राष्ट्रपतिको दौडबाट बाहिरिएको छैन ।
सँगै ओलीले कांग्रेसलाई केही दिन नसकिने स्पष्ट सन्देश दिएका थिए र अहिले पनि ओली यही चाहन्छन् । सरकार निर्माणताका राष्ट्रपति पद एमालेले पाउने सहमति थियो, त्यही सहमतिअनुसार राष्ट्रपति आफूहरूले पाउनुपर्ने बुझाइ एमाले नेताहरूको छ । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ भन्छन्, ‘एमालेले राष्ट्रपति पदका लागि उम्मेदवार बनाउँछ र उही राष्ट्रपति निर्वाचित हुन्छ ।’
माओवादी केन्द्रको निर्णयले एमाले थप दबाबमा परेको स्पष्टरूपमा बुझ्न सकिन्छ ।




