जनकपुरधाम- आर्थिक वर्ष सकिन केही दिनमात्र बाँकी रहेका बेला मधेश प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. सुनिल कुशवाहाको सरुवा गरिएको छ । उनको स्थानमा प्रदेश स्वास्थ्य तालिम केन्द्र पथैलयाका निमित्त निर्देशक डा. राजीवकुमार झालाई ल्याइएको छ ।
सोमबार प्रदेश सरकारको निर्णयअनुसार वरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. झालाई केन्द्रको आर्थिक तथा प्रशासनिक कामसमेतको जिम्मेवारी दिइएको हो ।
निर्देशक कुशवाहाले ८ करोड रुपैयाँ बराबरको निःशुल्क औषधि, ८ करोड बराबरको नसर्ने रोगका औषधि र १० करोड रुपैयाँको बेबी फलोरिमिटर खरिद प्रक्रिया त्रुटिपूर्ण भन्दै स्थगन गरेका थिए । यही निर्णयपछि काठमाडौँ केन्द्रित ’पण्डित समूह’ असन्तुष्ट बनेको र उनकै पहलमा डा. कुशवाहालाई हटाइएको स्रोतको दाबी छ ।
पूर्वमा स्वास्थ्य निर्देशनालय र आपूर्ति केन्द्रको प्रमुख भइसकेका डा. झा पण्डित समूहसँग नजिक मानिन्छन् । तर, पछिल्ला दिनमा सो समूहविरुद्ध अर्को समूहको पकड बढेसँगै उनलाई थोरै बजेट भएको तालिम केन्द्रमा पठाइएको थियो ।
जनमत पार्टीका उपाध्यक्ष तथा प्रदेश मन्त्री वसन्त कुशवाहाको चासोमा चार महिनाअघि नियुक्त भएका डा. कुशवाहामाथि अहिले मुख्यमन्त्री सतिश कुमार सिंह आफै असन्तुष्ट बनेका थिए । स्रोतका अनुसार कुशवाहाले आवश्यक स्वास्थ्य सामग्रीको प्रभावकारी आपूर्ति गर्न नसकेको भन्दै उनलाई हटाउने तयारी केही समयदेखि भइरहेको थियो ।
डाइरेक्टर पदका लागि सरुवा पत्र पाउनेबित्तिकै डा. झा सोमबार साँझ कार्यालयमा हाजिर भएका छन् । यद्यपि, डा. कुशवाहाले आफूले रद्द गरेका टेन्डरहरू कुनै पनि हालतमा पुनर्जीवित गर्न नसकिने दाबी गरेका छन् ।
स्वास्थ्य आपूर्तिसम्बन्धी विवाद, आन्तरिक गुटगत द्वन्द्व र राजनीतिक दबाबबीच गरिएको यो सरुवाले मधेश प्रदेशको स्वास्थ्य प्रशासनमा अस्थिरता थपिएको छ । आगामी दिनमा सरुवाको असर औषधि वितरण र सेवा प्रवाहमा कसरी देखिन्छ भन्नेबारे चासो बढेको छ ।




