
महोत्तरीको बर्दिवास नगरपालिका–१ मा संचालित ‘रोयल ईएसपीए (मसाज सेन्टर)’ मा प्रहरीले अश्लील गतिविधिको आशङ्कामा छापा मारेको छ। सोमबार राति १२ बजेतिर इलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको हो।
इलाका प्रहरी कार्यालय बर्दिवासका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) विकास बमको कमाण्डमा खटिएको ९ जनाको टोलीले गस्तीको क्रममा स्थानीय सरोकारवालाहरूको रोहबरमा स्पा सेन्टरमा खानतलासी गरेको हो।
प्रहरीका अनुसार, कानुनी समयसीमा पार गरी राति समेत स्पा सञ्चालित रहेको र त्यहाँ आपत्तिजनक गतिविधि भइरहेको शङ्कामा अनुसन्धान सुरु गरिएको हो।
छापाको क्रममा प्रहरीले स्पा सञ्चालिका र एक सेवाग्राहीलाई नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा लिएकाहरूमा जिल्ला धादिङ, रुबीभ्याली गाउँपालिका–५ की ३१ वर्षीया एक महिला र भारत, बिहारस्थित सितामढी जिल्लाका १९ वर्षीय एक पुरुष रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिएका दुबै व्यक्तिहरूले सोधपुछको क्रममा प्रहरीसँग दुर्व्यवहार गर्दै प्रहरीको काम कारवाहीमा अवरोध पुर्याएको आरोप लगाएको छ। उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ।
उक्त स्पा सेन्टर बर्दिवास बजार क्षेत्रदेखि करिब १ किलोमिटर दक्षिणतर्फ पर्छ। घटनासम्बन्धी थप विवरण प्रहरीले अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।
यस घटना भन्दा केहि दिन अघि मात्र वर्दिवासको एक होटेलमा समेत प्रहरीले छापामारी गरेका थिए ।प्रहरीले अचेल मध्यरातमा होटेलहरुमा छापामारी गर्न थालेको घटनालाई लिएर मानवअधिकारकर्मीहरुले आपती जनाएको छ। प्रहरीहरुलाई कसैको बेड रुमको ढोका ढकढक्याउने अधिकार कसले दियो । कुन आधारमा बेड रुम अर्थात बन्द कोठा भित्र रहेका व्यक्तिहरुलाई पक्राउ गरेर लग्न थालेका हुन् भनेर मानवअधिकारकर्मीहरुले प्रश्न गरेका छन् ।