
महोत्तरी - “वन संरक्षणमा सबैको सहभागिता आवश्यक” भन्ने मान्यता अनुरूप डिभिजन वन कार्यालय, महोत्तरी (जलेश्वर) को आयोजनामा पत्रकार, नागरिक समाज र सञ्चारकर्मी बीच समन्वय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जलेश्वरस्थित ममाज होटलमा आयोजित उक्त कार्यक्रममा पत्रकार, सामाजिक अभियन्ता, वातावरणमैत्री संघसंस्था, स्थानीय सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

कार्यक्रममा डिभिजन वन कार्यालयले पछिल्लो समय गरिएको कार्यको विवरण सार्वजनिक गर्दै वन अपराध नियन्त्रण, अवैध गाजा खेती उन्मूलन, सामुदायिक वन व्यवस्थापन, काठ तथा दाउरा वितरण र वनसम्बन्धी मुद्दा दायरजस्ता विषयमा उल्लेखनीय प्रगति भएको जानकारी गराएको छ। चालु आर्थिक वर्षमा मात्र ८ वटा वनसम्बन्धी मुद्दा दायर गरिनुका साथै ४७८.०६ घनफुट काठ बरामद गरिएको छ।

साथै ट्रयाक्टर, मोटरसाइकल, गोरु तथा वन्चरोजस्ता सवारीसाधनसमेत नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ।
कार्यक्रममा विगत वर्षहरूमा देखिएको बेरुजु तथा फछ्र्यौटसम्बन्धी विवरणसमेत सार्वजनिक गरिएको थियो। डिभिजन वन कार्यालयका अनुसार हालसम्म करिब ५ करोड ४३ लाख रुपैयाँ बराबरको अनियमितता पत्ता लागिसकेको छ र त्यससम्बन्धी छानबिन प्रक्रिया अगाडि बढाइएको छ।

कार्यक्रमका प्रमुख वक्ता तथा डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय कुमार मिश्रले पारदर्शिता, उत्तरदायित्व र सहकार्यमा आधारित वन संरक्षण रणनीति कार्यान्वयन गर्न समुदायको प्रत्यक्ष सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे। उनले वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणका लागि स्थानीयस्तरमै सचेत र सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।
कार्यक्रममा अधिकृत राम स्वरूप सिंह, सामुदायिक वनका प्रतिनिधिहरू, वातावरण अभियन्ता, युवा संघसंस्थाका प्रतिनिधि तथा विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले वन संरक्षण सरकारी निकायको मात्र नभई सम्पूर्ण समुदायको साझा दायित्व भएकोमा एकमत व्यक्त गर्दै, सामूहिक उत्तरदायित्वबोधका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए।