
जनकपुरधाम - धनुषाको विदेह नगरपालिका २ दुहबीमा तस्कर र सशस्त्र प्रहरीबीच बिहीबार राति झडप भएको छ ।सशस्त्र प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा भिडन्त भएको हो ।आत्मरक्षाका लागि सशस्त्रले अश्रुग्यास र हवाई फायर गरेका छन् । सो क्रममा तस्करी गर्नेहरूको समूहले आक्रमण गर्दा केहि सशस्त्र प्रहरी घाइते समेत भएको बुझिएको छ।
सशस्त्र प्रहरीका एसपी निर्मल खड्काले तस्करीको समान नियन्त्रणमा लिन एउटा घरमा छापा मार्न पुग्दा स्थानीयले आक्रमण गरेको जानकारी दिए । उनले स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको बताए ।
उनका अनुसार आक्रमणमा छ जना प्रहरी घाइते समेत भएका छन् । उनीहरू जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत छन् ।स्थानीयले तस्करलाई सघाएपछि सशस्त्र प्रहरीले तस्कर र तस्करीको समान समात्न असफल भए । एसपी खड्काले तस्करीको समान नियन्त्रणमा लिने स्थिति नरहेपछि फर्किनुपरेको सुनाए ।
सशस्त्र प्रहरी र तस्करबीच भएको भिडन्तबारे नेपाल प्रहरी भने अनभिज्ञ छन् । धनुषाका प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले भने, ‘तस्करसंग सामान्य विवाद भएको छ । त्यस विषयमा सशस्त्रलाई नै सोध्नुस् न ।
’दुहबी भारतीय सीमा क्षेत्र (दसगजा) मै टाँसिएको छ। यहाँका अधिकतर व्यक्ति तस्करीमा संलग्न छन् । यो नाकाबाट तस्करी नियन्त्रणमा पुग्ने प्रहरीमाथि यसअघि पनि पटक पटक आक्रमण भएको छ ।