एजेन्सी – बिहारको पुर्णिया जिल्लामा एक दर्दनाक र अमानवीय घटनाले सर्वत्र आक्रोश फैलाएको छ। ‘बोक्सी’ (चुडैल) को आरोप लगाउँदै एकै परिवारका पाँच जना सदस्यलाई जिउँदै जलाएर मारिएको छ। गत आइतवार राति भएको यस घटनामा ७५ वर्षीया वृद्धा कातो, उनका छोरा ६५ वर्षीय बाबु लाल उरांव, बुहारी ६० वर्षीया सीता देवी, नाति २५ वर्षीय मंजीत उरांव र नातिनी बुहारी २२ वर्षीया रेखा देवी मारिएका हुन्। एकै परिवारको समाप्ति बाबु लाल उरांव र सीता देवी पति–पत्नी थिए भने वृद्धा कातो, बाबु लाल उरांवकी आमा थिइन्।
मंजीत उरांव तिनीहरूको छोरा थिए, र रेखा देवी मंजीतकी पत्नी। यी सबै एकै घरमा बस्दै आएका थिए। अन्य छोरा–बुहारी भने टोलमा छुट्टाछुट्टै घरमा बस्छन्। कातोका पाँच छोरा थिए—जगदीश, बाबु लाल, खूब लाल, अर्जुन र जितेन्द्र उरांव। तर मारिएका मध्ये बाबु लाल र उनको परिवार मात्रै एकै घरमा थिए। बोक्सी आरोपको कारण : बालकको मृत्यु स्थानीय स्रोतका अनुसार केही दिन अघि टोलका रामदेव उरांवका बालकको मृत्यु भएको थियो। त्यसपछि रामदेवको भाञ्जाको स्वास्थ्य पनि एकाएक बिग्रिएको बताइएको छ।
त्यसैलाई लिएर ‘बोक्सीले जादू टोना गरिन्’ भन्ने अफवाह फैलियो र बाबु लाल उरांवको परिवारमाथि आरोप लगाउन थालियो। स्थानीयहरूका अनुसार, बालकको मृत्यु र भाञ्जाको बिरामीपनलाई लिएर पीडित परिवारमाथि दबाब दिन थालियो कि “निको पार्नुपर्छ”। यसैक्रममा आइतवार राति, आक्रोशित समूहले बाबु लाल उरांवको घरमा आगो लगाइदियो।
आगोबाट बच्न नपाएर सबैजनाको घटनास्थलमै मृत्यु भयो। प्रशासनको प्रतिक्रिया घटनापछि स्थानीय प्रशासन घटनास्थलमा पुगेको छ र अनुसन्धान अगाडि बढाइएको छ। दोषीलाई चाँडै कानुनी दायरामा ल्याइने अधिकारीहरूले बताएका छन्। सामाजिक चिन्ताको विषय यस घटनाले ग्रामीण क्षेत्रमा अझै पनि बोक्सी आरोपका नाममा भइरहेका अमानवीय व्यवहारलाई उजागर गरेको छ। सामाजिक सचेतनाको अभाव, अशिक्षा र अन्धविश्वासका कारण निर्दोष व्यक्तिहरूले ज्यान गुमाइरहेका छन्।


